Logo

नेपाल ‘ईण्डो प्यासिफिक रिजन’मा आउनैपर्छ, तर स्ट्राटेजीमा जाँदा समस्या पर्छ’ : डा. पाण्डे



काठमाडौं, २४ जेठ । परराष्ट्रविद डा निश्चलनाथ पाण्डेले पछिल्लो समय नेपाल विश्वको प्राथमिकतामा पर्न थालेको सुनाए । नेपालको वैदेशिक सम्बन्ध बेलायतसँगको सम्बन्धबाट नै सुरु भएको बताउँदै नेपाल–बेलायत सम्बन्ध महत्वपूर्ण रहेको पनि पाण्डेको भनाई छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्रीको युरोप भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको जन्म नै बेलायतसँगको दौत्य सम्बन्धबाट सुरु भएको हो । हामीबीच आत्मिय सम्बन्ध छ । बेलायती महारानी एलिजावेथले दुई पटक नेपाल भ्रमण गर्नुभएको थियो । राजकुमार चाल्र्सपनि पटक पटक नेपाल आउनुभयो । ह्यारी पनि आएर जानुभयो । राजकुमारी डायनापनि नेपाल आउनुभएको थियो । बेलायतसँग नेपालको लामो ईतिहास छ ।’

यद्धपी बेलायती प्रधानमन्त्रीको तहबाट अहिलेसम्म कोही पनि नेपाल भ्रमणमा नआएको उनले सुनाए । उनले भने,‘दुर्भाग्य अहिलेसम्म एक जना बेलायती प्रधानमन्त्रीले पनि नेपाल भ्रमण गरेका छैनन् ।’ पाण्डेले नेपालको तर्फबाट तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा, मनमोहन अधिकारी, तत्कालिन उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले बेलायत भ्रमण गरेको सुनाए ।

नेपालको व्यापारमा, भुकम्पपछिको पूर्ननिर्माणमा बेलायतले ठूलो सहयोग गरेको पनि उनले जनाए । त्यस्तै, प्रथम विश्व युद्ध र दोस्रो विश्व युद्धमा बेलायतको पक्षमा लडेका ब्रिटिश गोरखाको बारेमा पनि बोल्दै उनीहरुको समस्याको सरकारले पहल गर्ने उनको विश्वास छ ।
फ्रान्ससँगको सम्बन्धको विषयमा प्रधानमन्त्रीले खुलेर कुराकानी गर्ने उनको अपेक्षा छ । त्यस्तै, नेपाल युनेस्कोको पनि सदस्य भएकोले यसलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ ।

ईण्डो प्यासिफिक रिजन र ईण्डो प्यासिफिक स्टा«टेजी दुवै फरक फरक विषय भएको उनको भनाई छ । उनले भने,‘ईण्डो प्यासिफिक रिजन पहिले एशिया प्यासिफिक नामले थियो । तर, पछि यसलाई अमेरिकाले ईण्डो प्यासिफिक बनायो । हामी रिजन अन्तर्गत छौं । तर, हामी स्टा«टेजी अन्तर्गत छैनौं ।’ उनले नाम परिवर्तन गर्दैमा केही फरक नपर्ने पनि सुनाए । उनले भने,‘नेपाल ईण्डो प्यासिफिक रिजनमा आउनैपर्छ । तर, स्ट्राटेजीमा जाँदा समस्यामा पर्छ ।’

नेपाल चीनको बिआरआईमा हस्ताक्षर राष्ट्र भएकोले नेपालले चीन, भारत र अमेरिका चासो र स्वार्थमा चनाखो हुनुपर्ने उनको सुझाव छ । प्रधानमन्त्रीको विदेश भ्रमणले द्धिपक्षीय सम्बन्ध अझ मजबुद र सुदृढ हुने पाण्डेको विश्वास छ ।

अक्सफोर्ड विश्वविद्यालयमा हुने प्रधानमन्त्रीको ‘टक–प्रोगाम’ आफैंमा महत्वपूर्ण रहेको पनि पाण्डेले जनाए । त्यस्तै, फ्रान्ससँग महत्वपूर्ण सम्झौता हुन लागेको छ भनेर सुन्नमा आएपनि यसबारेमा एकिन नभएकोले अहिलेनै त्यसबारेमा केही भन्न नसिकने उनले स्पष्ट पारे ।

प्रधानमन्त्रीको यो भ्रमणले परस्पर सम्बन्धको बारेमा लाभ पुग्ने पनि उनको विश्वास छ । नेपालमा अब राजनीतिक रुपमा पनि स्थायित्व छ भन्ने सन्देश दिनको लागि पनि प्रधानमन्त्रीको विदेश भ्रमण फलदायी हुने बताउँदै भ्रमणको दौरान नेपालले अधिकतम लाभ हाँसिल गर्ने विषयमा ध्यान पुर्याउनुपर्ने उनको सुझाव छ ।



प्रतिक्रिया दिनुहोस्