डा. बाबुराम भट्टराईले ३० जेष्ठ २०७३ मा नयाँ शक्ति घोषणा गर्दा करिश्मा मानन्धर सबैको आकर्षणको केन्द्र बनिन् । सुन्तला रङ्गको साडीमा सजिएकी करिश्मालाई उद्घोषण गर्ने अवसर दिइएको थियो । सबैको आँखा खिच्न सफल करिश्माले उद्घोषण बिगारेकी थिइन् । राजनीतिक उनका लागि सहज नभएको ठम्याई भइसकेको थियो ।
चलचित्रमा करिश्मा देखाएकी करिश्माले राजनीतिमा करिश्मा देखाउन सक्लिन् कि नसक्लिन् ? चासो बनेको थियो । उतिबेला करिश्माको प्रस्तुतीको धेरैले व्यङ्ग्य गरे । करिश्मा कम पढेकी भनेर सामाजिक सञ्जालमा चर्चा चल्यो । करिश्मा त्यही इखले विद्यावारिधी सम्म गर्छु भन्दै विद्यालय भर्ना भइन् ।
राजनीतिमा करिश्माले केही गर्लिन् भन्ने अनुमान गलत हुँदै गयो । नयाँ शक्तिमा उनको सक्रियता घट्दै गयो ।
चलचित्र र राजनीतिक बिल्कुल फरक हो । चलचित्रमा अभियन र श्रृंगारको प्रधानता रहन्छ । राजनीतिमा त्यतिले मात्र पुग्दैन । योद्धाको शैलीमा लड्न तयार हुनुपर्छ सधै ।
करिश्मा राजनीतिबाट टाढिदै गइन् । नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकता हुँदा करिश्मा राजनीतिबाट निष्कृय जस्तै थिइन् । दुवैबीचको एकता हुँदा सम्म राजनीतिक परित्यागको अवस्थामा पुगिन् ।
डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच पार्टी एकता भयो । करिश्मा थिइनन् । नयाँ शक्ति पार्टी घोषणा भएको ठिक तीन वर्षपछि बिहिबार निर्वाचन आयोगमा दल दर्ता भयो । समाजवादी पार्टी, नेपाल नाम दिइयो । करिश्मा देखिइनन् । खै करिश्मा ?
विवादमा करिश्मा
करिश्मा विवादको घेराबाट मुक्त भइनन् । कहिले अमेरिका पलायन त कहिले प्रेम सम्बन्धको बजार हल्ला । व्यक्तिगत सम्बन्धमा समेत विवादास्पद विषय बाहिर आइरह्यो । उनको नाम चलेका सेलिब्रिटीहरुसँग जोडियो ।
नेपाली चलचित्र जगतकी सदावहार नायिका करिश्माको सुन्दरताको बखान धेरै भयो । सुन्दर भएकैले घमण्डी भन्नेहरु भए । मयूर नाँच्दै नाँच्दै खुट्टा देखेर रुन्छ । राजनीतिमा लाग्दा उनको औपचारिक शिक्षाबारे प्रश्न उठेपछि मयूरकै हालत भयो । सुधारमा सक्रिय त भइन् तर, आफूले टेकेको पाइलामा टिक्न सकिनन् । राजनीतिबाट दूर भइन् ।
किन छाडिन् बाबुरामको साथ
राजनीतिमा अविरल लागेका बाबुरामसँग साथ साथ बढ्न सकिनन् करिश्मा । राजनीतिमा जुन धैर्यता चाहिन्छ त्यो उनमा थिएन । धैर्यता बाबुरामा थियो र उनी विचारधारा परिवर्तन गरेर पनि सक्रिय रहिरहे ।
करिश्माहरु राजनीतिलाई रहर बनाउँछन् हराउँछन् । देखेजस्तो सजिलो छैन राजनीति । पद र शक्ति बाहिर देख्दा पो लोभलाग्दो हुन्छ । त्यो स्थान बनाउन कठिनाईका पहाडहरु चढ्नैपर्छ । करिश्माका लागि ती पहाडहरु कहालीलाग्दा भए । त्यसैले उनी राजनीतिबाट चाँडै विचलित भइन् ।