जेठ ३१, काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघमा शेखर गोल्छालाई अध्यक्ष बन्नबाट रोक्न वर्तमान अध्यक्ष भवानी राणाले विधान संशोधन गर्न खोजेकी छिन् । गोल्छालाई कुनै हालतमा अध्यक्ष बन्न नदिने पूर्व अध्यक्ष चण्डी ढकालको रणनीति अनुसार राणाले संशोधनको तयारी गरेकी हुन् ।
हालको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान छ । विगतमा भवानी राणालाई वरिष्ठ उपाध्यक्ष बनाएर स्वतः अध्यक्ष बनाउने रणनीति अनुसार नै विधान संशोधन गरी बनाइएको थियो । उपाध्यक्ष भएको व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने नियम सँसारमा विरलै पाइन्छ ।
भवानीलाई अध्यक्ष बनाउनकै लागि यस्तो विधान बनाउन चण्डी ढकालले नै खेल खेलेका थिए । चण्डी अहिले पनि महासंघको पदाधिकारीकै हैसियतमा छन् । विगतमा चण्डीले खेलेको खेलले भाष्करराज कर्णीकार अध्यक्ष बन्नबाट रोकिए ।
चण्डकीको अर्को खेल
चण्डी ढकाल महासंघमा अझै हावी छन् । उनकै योजना अनुसार गोल्छालाई रोक्ने नयाँ खेल शुरु भएको हो । विगतमा अध्यक्ष बन्नबाट चण्डीबाट रोकिएका भाष्करराज कर्णिकार भने चण्डीको पक्षमा देखिएका छन् । उनी विधान पुनः संशोधनको पक्षमा छन् ।
विधान संशोधन गर्नुहुन्न भन्ने पक्षमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासहित उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ, चन्द्र ढकाललगायत छन् । विधानकै विषयमा महासंघभित्र नयाँ गुटबन्दी सृजना भएको छ ।
भवानीको झेल
भवानी राणा आफू जुन विधान अन्र्तगत अध्यक्ष भइन् त्यही विधान संशोधन गरेर झेल गर्नमा लागेकी छिन् । उद्योगी व्यवसायीको समस्यामा भन्दा विदेश घुम्नमा उनको समय बढी बित्दै आएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत वरिष्ठ सरकारी अधिकारीहरु जुन जुन देशको भ्रमणमा जान्छन् उनी त्यही त्यही देश पुग्न थालेकी छिन् । भ्रमणका लागि मरिहत्ते गर्ने भनेर उनको महासंघभित्र आलोचना हुनथालेको छ ।
उद्योग वाणिज्य महासंघको अध्यक्षले पालना गर्नुपर्ने मर्यादा र देखाउनुपर्ने हैसियत देखाउन नसकिरहेको गुनासाहरु बढेको छ । महासंघका एक पदाधिकारी भन्छन्,‘उद्योग वाणिज्य महासंघले यति हल्का अध्यक्ष अहिलेसम्म पाएकै थिएन ।’