जेठ ३१, काठमाण्डौ । पूर्व राजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटको पहल गरेका छन् । उनले नेपाल र भारतमा रहेका आफ्ना शुभेच्छुकमार्फत् भेटको पहल गरेको बुझिएको छ ।
मोदीको जीतबाट निर्क खुशी पूर्व राजाले बधाई समेत दिएका छन् । उत्साही भएका शाहले मोदीलाई शाहले बधाई सन्देश पठाएका हुन् ।
सनातन हिन्दु धर्मको रक्षामा जोड दिदै आएको भारतीय जनता दलको भारतमा भएको सानदार जीतले शाहमा नयाँ आशा जागृत भएको बुझिएको छ ।
भाजपा शक्तिशाली हुँदाले लाभ लिन सकिने भन्दै सक्रियता देखाउन निकटस्थले पूर्व राजालाई सुझाव दिएका छन् । थाइल्यान्ड भ्रमणमा रहेका पूर्व राजाले त्यहाँ बस्दा समेत मोदीसँग भेटका लागि सम्पर्क सूत्रहरुसँग विभिन्न तरिकाले छलफल गरेका छन् । उनले मोदीसँग भेटको माहोल तयार गर्न विश्वासपात्रहरुलाई पटक पटक भारत पठाएपनि सम्भव भएको थिएन ।
नेपालगन्ज जाँदैछन्
पूर्व राजा ज्ञानेन्द्र शाह नेपाल फर्किएपछि नेपालगन्ज जाने तय भएको छ । बैंककमा पारिवारिक भ्रमणमा रहेका उनी ३ असारमा फर्कदैछन् । ५ जेष्ठमा बैंकक उडेका शाहको लामो विदेश बसाईं पारिवारिक भ्रमणका लागि मात्र सिमित नभएको बुझिएको छ । उनले केही विशेष भेटहरु गरेको विश्वस्त सूत्रले जानकारी दियो ।
शाह स्वदेश फर्किएपछि केही दिन आराम गरेर काठमडौं भ्रमणमा जाने तय भइसकेको निकटस्थले जानकारी दिए । शाहले यसपटकको जन्मदिन नेपालगन्जमा मनाउने भएका छन् । २३ असारमा ज्ञानेन्द्रको जन्मदिन पर्छ । पछिल्लो समय उनी नेपालगन्ज निकै आवत्जावत् गर्दै आएका छन् ।
नेपालगन्ज भ्रमणकै बखत अचानक लखनऊ पुगेर योगीसँग भेटेका थिए । २०७४ सालमा भएको योगीसँगको भेटपछि पूर्व राजा निकै उत्साही भएको निकटस्थले बताए ।
योगीसँगको अर्थपूर्ण भेट
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग डेढ वर्ष अधि पूर्व राजा ज्ञानेन्द्र शाहको महत्वपूर्ण भेट भएको थियो । नेपालगन्ज पुगेका पूर्व राजा सिधै लखनऊ पुगेर योगीसँग भेट गरेका थिए । उक्त भेटको तस्वीर योगी आफैले सार्वजनिक गरेका थिए ।
योगीसँगको भेटले नेपाली राजनीतिमा तरंग आएको थियो । योगी नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने पक्षका हुन् । उनी मुख्यमन्त्री नहुँदै नेपाल आएर हिन्दु राष्ट्र र राजसंस्थाको पुर्नस्थापनाको पक्षमा बोलेर गएका थिए । मुख्यमन्त्री भएपछि भने उनी दुवै विषयमा मौन छन् ।
थाइल्यान्डमा एक महिने बसाईँ
पूर्व राजा ज्ञानेन्द्र उच्च मावि तहको शिक्षा पूरा गरेकी जेठी नातिनी पूर्णिकाको दिक्षान्तका लागि भन्दै बैंकक पुगेका हुन् । उनका साथमा परिवारका अन्य सदस्य समेत छन् । पूर्व राजा एक महिना विदेश बस्नुलाई निकै अर्थपूर्ण मानिएको छ ।