काठमाडौं, १ असार । पूर्व मिस नेपाल श्रृंखला खतिवडाको सुन्दरताले युरोपमा निकै चर्चा पायो । बोल्ड व्यक्तित्वका कारण श्रृंखला भ्रमणदलको गहना जस्तै भइन् । भद्र शैलीमा कुटनीतिक क्षेत्रको अभ्यास गरेर आइन् ।
त्यसैले, प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणमा साथ रहेकी श्रृंखला सबैको नजरमा परिन् । अग्लो कद, खुलेको मुहार र निडर स्वाभावबाट धेरै प्रभावित भए । उनले भ्रमणका क्रममा भाषण पनि गर्न भ्याइन् ।
किन लगिइन् श्रृंखला
प्रधानमन्त्री ओलीले श्रृंखलालाई साथ लानुमा उनको सुन्दरता मात्र कारण थिएन, नेपाल फ्रान्स दौत्य सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठको सद्भावना दूतमा श्रृंखलाको नियुक्ति पनि कारण थियो ।
फ्रान्सको शामोनी मों ब्लाँ मा प्रधानमन्त्रीको टोली पुगेको थियो । त्यहाँका मेयरले उनको भव्य स्वागत पनि गरे । ३१ जेठमा शामोनी मों ब्लाँमा नेपाल भ्रमण वर्ष २०२० अभियानको औपचारिक घोषणा गरे । फ्रान्सेली हिमश्रृंखला आल्पस रेञ्जमा पर्ने शामोनी मों ब्लाँ क्षेत्र नेपलाको हिमाली भूभागसँग धेरै हदसम्म मिल्दोजुल्दो छ ।
फ्रान्समा श्रृंखलाले सम्बोधन गरेको तस्वीरसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीट समेत गरे । सम्बोधनका क्रममा श्रृंखला खतिवडाले नेपाल भ्रमण वर्षमा सबैलाई सहभागी हुन निम्तो पनि गरिन् ।
नेकपासँग पारिवारिक साइनो
मिस नेपाल २०१८ भएर मात्र श्रृंखला प्रधानमन्त्री ओलीको भ्रमण दलमा परेकी होइनन् । उनको साइनो नेकपासँग छ । उनका पिता विरोध खतिवडा नेकपा सांसद हुन् । विरोधले कम्युनिष्ट राजनीतिमा लामो समय बिताइसके ।