काठमाडौं, १ असार । सरकारले ल्याएको गुठीसम्बन्धित विधेयकको विरोधमा उत्रिएका आन्दोलनकारीलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद गंगा चौधरी सत्गौवाले भाडाका मान्छे भनेकी छिन् । प्रतिनिधिसभाको बैठकमा आइतबार बोल्दै ‘भाडाका मान्छेले विरोध गर्दैमा’ विधेयकलाई कुनै हालतमा रोक्न नहुने तर्क गरिन् ।
विधेयकको बचाऊ गर्दै आन्दोलनकारीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएकी चौधरीले भनिन्,‘भाडाका मान्छेले भन्दैमा गुठी विधेयक फिर्ता नगरियोस् ।’ माइतीघर मण्डलमा भाडाका मान्छे ल्याएर गुठी विधेयकको विरोध भएको आरोप लगाइन् ।
स्वर्गद्वारीको जग्गाबारे बोलेकी सांसद चौधरीले किसानहरु अधिकारका लागि उठ्नसक्ने बताइन् । गुठी विधेयकविरुद्ध काठमाडौं उपत्यकामा आन्दोलन उठिरहँदा उपत्यका बाहिर र भित्रको गुठी प्रथा फरक हुने व्याख्या गर्दै सत्तारुढ सांसदहरुले विधेयकको बचाऊ गरिरहेका छन् ।
यसअघि सत्तारुढ नेकपाकी सचेतक शान्ता चौधरीले गुठी विधेयक फिर्ता लिन नहुने तर्क गरेकी थिइन् । उनले किसानको अधिकार सुनिश्चित हुने गरी विधेयक आएको भन्दै विरोध गर्नुको अर्थ नरहेको बताइन् । चौधरीले मन्दिर र मूर्तिका लागि मात्र बोल्ने किसानको लागि नबोल्ने ? प्रश्न गरिन् ।