काठमाडौं, असार ३ । बंगलादेशले आइसीसी विश्वकप क्रिकेट २०१९ मा दोस्रो जित हात पारेको छ।बंगलादेले इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकपमा सोमवार वेष्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो।
३२२ रनको लक्ष्य ४१।३ ओभरमा बंगलादेशले ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। लगातार दोस्रो शतक प्रहार गर्ने क्रममा शकिबले नटआउट १२४ रन बनाए। यस्तै लिटन दासले नटआउट ९४ रन योगदान गरे। विश्वकपमा चेस भएको यो दोस्रो उच्च स्कोर हो। यसअघि २०११ को विश्वकपमा आयरल्याण्डले इंग्ल्याण्डले दिएको ३२८ रनको लक्ष्य चेस गरेको थियो।
ओपनर सौम्य सरकार २९ रन बनाएर आउट भएपछि शकिबले ओपनर तममि इकवालसँग दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए। अर्धशतक बनाउन २ रनले चुकेका तमिम ४८ रन बनाउँदा रनटआउट भए।
त्यसपछि मुस्फिकर रहिम १ रन मात्र बनाएर आउट भएपछि बंगलादेशले १३३ रन बनाउँदा ३ विकेट गुमायो।यी दुईले चौथो विकेटका लागि नटआउट १८९ रनको साझेदारी गरे। शकिबले ९९ बल खेल्दै १६ चौकाको मद्दतमा नटआउट १२४ रन बनाए। यस्तै लिटन दासले आक्रमक ब्याटिङ गर्दै नटआउट ९४ रन जोडे। लिटनले ६९ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे। वेष्ट इन्डिजका लागि आन्द्रे रसेल र ओसाने थोमसले १(१ विकेट लिए।
बंगलादेशका कप्तान मोसरफे मोर्ताजाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३२१ रन बनाएको थियो।
वेष्ट इन्डिजका लागि शाई होपले सर्वाधिक ९६ रन बनाए। यस्तै एभिन लेविसले ७० र शिमरोन हेतमारले ५० रन जोडे। कप्तान ज्यासन होल्डरले ३३, निकोलस पुरनले २५ र डारेन ब्राभोले १९ रन बनाए। क्रिस गेल १३ बल खेल्दै खाता नखोली आउट भए भने आन्द्रे रसेल पनि शुन्यमा आउट भए। बंगलादेशका लागि मोहम्मद सैफुदिन र मुस्ताफिजुर रहेमानले ३(३ विकेट लिए। शकिबले २ विकेट लिए।