Logo

उत्तम सञ्जेल पक्राउ



काठमाडौं, ३ असार । समता अस्पतालमा कार्यरत एक कर्मचारीले ‘झुन्डिएर आत्महत्या’ गरेको विषयलाई लिएर मृतकका आफन्त र स्थानीयवासीले प्रदर्शन गर्नुका साथै समता अस्पताल र समता स्कुलमा तोडफोड गरेका छन् ।

सो प्रकरणमा सत्य, तथ्य छानबिन गर्न भन्दै अस्पतालका सञ्चालक उत्तम सञ्जेल र उनकी पत्नीलाई प्रहरी प्रशासनले आज पक्राउ गरेको छ । उनीहरुलाई हिरासतमा राखी सोधपुछ गरिएको छ ।  काठमाडौंको कुमारीगालस्थित समता अस्पतालमा कार्यरत् रामेछापकी विमला तामाङले आत्महत्या गरेको घटनालाई लिएर सो क्षेत्र मंगलबार दिनभर तनावग्रस्त बन्यो ।

अस्पतालमा ‘स्वीपर’कोरुपमा कार्यरत् २७ वर्षीया मृतक विमलाका आफन्त र स्थानीयवासीले अस्पतालभित्र तोडफोड गरेपछि तनाव उत्पन्न भएको थियो। अस्पतालका कर्मचारीहरुकै मिलोमतोमा उनको हत्या गरिएको भन्दै आफन्तजन र टोलवासीले सो क्षेत्रको बाटो अवरुद्ध गरी ढुंगामुढा गरेपछि भीड नियन्त्रण गर्न प्रहरीले कयौं सेल अश्रुग्यास प्रयोग गर्नुका साथै लाठीचार्जसमेत गर्नुपरेको थियो ।

विमलाले लगाएको लुगाको खल्तीमा भेटिएको ‘नोट’मा ‘अस्पतालका तीनजना कर्मचारीलाई कारबाही गर्नू’ भन्ने लेखिएको भेटिएपछि आक्रोशित प्रदर्शनकारी र आफन्तजनले सुनियोजित हत्या भन्दै नोटमा उल्लेख गरिएका व्यक्तिहरुलाई हत्याराकारुपमा कारबाहीको माग गर्दै प्रदर्शन चर्काएका थिए ।



प्रतिक्रिया दिनुहोस्