Logo

काठमाडौंमा युवतीमाथि ‘सिरिन्ज’ आक्रमणको शृंखला



काठमाडौं, असार ५ । राजधानीमा पछिल्लो केही दिनयता युवतीलक्षित ‘सिरिन्ज’ आक्रमणका घटना बढ्दै गएका छन्। दुई साताको अवधिमा राजधानीमा ४ युवती र महिलामाथि अज्ञात व्यक्तिले सिरिन्ज आक्रमण गरी भागेको पाइएको छ।सिरिन्ज आक्र मणमा परेका युवतीहरु अहिले उपचारमा छन् भने आक्रमणमा संलग्न कोहि पनि पक्राउ परेका छैनन् ।

पीडितहरु चिकित्सकको नियमित निगरानीमा छन्। आक्रमणमा परेका युवतीको उमेर २० देखि २५ बिचमा रहेको छ। सिरिन्ज आक्रमण परेका व्यक्तिमा एचआइभी, हेपाटाइटिस(बी, हेपाटाइटिस ‘सी’लगायतका रोगको संक्रमण हुन सक्ने भएकाले उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका छन्। अस्पतालले उनीहरुलाई ती रोगको संक्रमणबाट जोगाउन आवश्यक उपचार र खोप लगाइदिएको छ। अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाका अनुसार अस्पतालमा उस्तै प्रकृतिका आक्रमणमा परेका ४ युवती उपचारका लागि आएका पुगेका छन।

‘आक्रमण भएको स्थानमा सिरिन्जको जस्तै प्वाल भेटिएको छ,’ उनले भने, ‘ठ्याक्कै सिरिन्ज हो ? होइन भन्ने यकिन त छैन तर, सियोजस्तै तिखो वस्तुले आक्रमण भने गरेको बुझिन्छ।’अस्पतालमा उपचार गर्न आएका युवतीहरुका अनुसार मोटरसाइकलमा आएका युवाले आक्रमण गरेका थिए।

सिरिन्जले आक्रमण गरेको व्यक्तिमा संक्रमण भएको थाहा पाउन ३ महिना लाग्ने अस्पतालले श्रोतले जनाएको छ । ‘आक्रमण लगत्तै एचआइभी, हेपाटाइटिसजस्ता संक्रमणका बारेमा थाहा पाउन सकिँदैन,’ हामीले उहाँहरुलाई संक्रमणबाट जोगाउने खोप र उपचार प्रक्रिया अगाडि बढाएका छौं।’कार्यरत डाक्टरहरुले बताएका छन । युवतीमाथि सिरिन्ज आक्रमणका विषयमा प्रहरीमा समेत उजुरी परेको छ। प्रहरीले पनि यो विषयमा आवश्यक अनुसन्धान अगाडि बढाएको छ। महानगरीय प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीका अनुसार हालसम्म ३ जना युवतीमाथि सिरिन्ज आक्रमण भएको छ।

‘ढल्कु र पकनाजोलमा ३ जना युवतीमा आक्रमण भएको खबर आएको छ,’ उनले भने, ‘यो विषयमा हामीले आवश्यक अनुसन्धान अगाडि बढाइसकेका छौं।’आक्रमणकारीले युवतीमाथि आक्रमण गरेपछि चोरी तथा अन्य कुनै दुःख नदिएका कारण किन आक्रमण गरिरहेका छन् भन्ने विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।



प्रतिक्रिया दिनुहोस्