Logo

फेक इन्काउन्टरको श्रृखला कहिलेसम्म ? मानवअधिकार आयोगको चासो



असार ७, काठमाण्डौ । पछिल्लो समय नेपाल प्रहरीले गर्ने इन्काउन्टर विवादित बन्दै गएको छ । विगतमा भएका विवादास्पद ‘इन्काउन्टर’ घटनाको उचित छानबिन नहुँदा प्रहरीको मनोबल बढेको विश्लेषण समेत हुन थालेको छ ।

पछिल्ला केही घटनाका अभियुक्तहरु जो सामान्य चोरीका अभियुक्तहरु पक्रन समेत प्रहरीले गोली हान्ने प्रवृतिले प्रहरीमाथि नै विभिन्न शंका आंशका उब्जाएको छ । जसले सिंगो प्रहरी संगठनमाथि नै प्रश्न चिन्ह उठ्न थालेको छ ।

बिहीबार मात्र प्रहरीसँगको ‘मुठभेड’ मा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल मारिए । उक्त घटनामा पनि प्रहरी विवादित बनेको छ । उक्त घटनामा प्रहरी मुटभेड नभइ प्रक्राउ गरेको व्यत्तिलाई गोली हानी नियोचित रुपमा हत्या गरेको भन्दै मृतकका आफन्त तथा उनी सम्बद्ध पार्टीले समेत घटनाको विरोध गरेका छन ।

मुठभेड भनिए पनि त्यसमा प्रहरीतर्फ कसैलाई केही नभएकोले घटना शंस्कास्पद भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले छानबिन थालेको छ । भने संसदमा समेत उक्त घटनाको छानविनको लागि माग उठेको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका–१ लखन्ती खोलामा बिहीबार दिउँसो मुठभेड हुंदा पौडेलको मृत्यु भएको प्रहरीले दावी गरेको छ । गत जेठ ७ गते मात्र विप्लव समूहका कार्यकर्ता तीर्थराज घिमिरे भोजपुरमा प्रहरीको गोलीबाट मारिएका थिए । महिनादिन अघि मात्रै चोरीमा संलग्न काले भनिने विष्णु तामाङलाई प्रहरीले काठमाडौंको टोखामा गोली हानी पक्राउ गरेका थिए ।

पछिल्लो ३–४ बर्ष यताका प्रहरीबाट भएका इन्काउन्टरका घटनाहरु हेर्ने हो भने त्यसकोे सुची थपिदै गएको छ । विहिबारसम्म आइपुग्दा आधा दर्जन बढी इन्काउन्टरहरु विवादिन भएका छन ।

बालक निशान खड्काको अपहरणपछि हत्या घटनामा संलग्न अजय तामाङ र गोपाल तामाङको गत वर्ष २१ साउनमा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । ठिमीस्थित डेराबाट पक्राउ गरी जंगलमा लगेर उनलाई गोली हानिएको भन्दै आयोगमा उजुरी परेको थियो ।

गुन्डागर्दी गरेको आरोपमा दिनेश अधिकारी ‘चरी’ र कुमार घैँटे भनिने कुमार श्रेष्ठसमेत प्रहरी गोलीबाट मारिएका थिए । दुवै घटनाको आयोगमा उजुरी परेको थियो । तर, ब्यालेस्टिक विज्ञ नभेटिएको भन्दै सो घटनाको छानबिन पनि आयोगले निष्कर्षमा पु¥याउन सकेनन ।

२०७४ फागुन ९ गते गते गुन्डा नाइके मनोज पुन र उनका सहयोगी सोमबहादुर आले रूपन्देहीमा प्रहरीको गोलीबाट मारिएका थिए । उनीहरु पनि प्रहरी मुठभेडमा मारिएको प्रहरीले दावी गरेपनि परिवारले भारतबाट पक्राउ गरेर ल्याई गोली हानेको भन्दै मानअधिकार आयोगमा उजुरी गरेका थिए ।

यी त विवादित भएका प्रतिनिधि घटनाहरु मात्र हुन यस्ता आधा दर्जन भन्दा बढी विवादित इन्काउन्टरका घटनाहरु छ । गत माघमा सप्तरीको रूपनीमा प्रहरी गोलीबाट दीपेन्द्र चौधरी मारिएका थिए । गत २९ पुसमा रूपन्देहीमा प्रहरी मुडभेडमा केदार सहनी मारिएका थिए ।

उक्त घटना पनि शंकास्पद भएको भन्दै परिवारजनले विरोध जनाएका थिए । गत बर्षको माघ महिनामा काठमाडौंको गोंगबुस्थित एक गेस्ट हाउसमा काभ्रेका अविनाश लामामाथि गोली प्रहार भएको थियो । भने दुई साताअघि मात्र कास्कीमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न गोविन्द थापामाथि प्रहरीले गोली चलाएको थियो । सो घटनामा पनि प्रहरीले पक्राउ गरेर गोली हानिएको भन्दै परिवारजनले विरोध जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्