काठमाडौं ८ चैत । बाली लगाउने समयमा मलको अभाव वर्षेनि हुँदै आएको छ । जसको असर उत्पादनमा पर्दै आएको छ भने कृषक हैरानी व्यहोर्न बाध्य छन् ।
यस वर्ष पनि मलको अभाव भएको गुनासो कृषकले गरेका छन् ।
सरकारले पर्याप्त बजेट नदिँदा रासायनिक मलको अभाव हुने गरेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । वार्षिक माग ८ लाख मेट्रिकटन रहेपनि वार्षिक ३ लाख मेट्रिकटनमात्रै पूर्ति हुने गरेको कृषि सामग्री लिमिटेडको तथ्यांक छ । सरकारले थोरै बजेट दिएका कारण समयमै र पर्याप्त मल दिन नसकेको कम्पनीका सूचना अधिकारी विष्णुप्रसाद पोखरेलले बताए ।
कृषि सामग्री कम्पनी लिमिटेडको तथ्यांकअनुसार वार्षिक ४ लाख टनभन्दा बढी युरिया तथा ३ लाख मेट्रिकटनभन्दा बढी डीएपी मल आवश्यक पर्छ ।
तर, कृषि सामग्री कम्पनीले वार्षिक जम्मा ३ लाख मेट्रिकटनमात्रै मल बिक्री गरिरहेको छ ।
कृषि सामग्रीका लागि १० अर्ब रुपैयाँ बढी बजेट आवश्यक भएपनि थोरै बजेटका कारण मलको अभाव हुँदै आएको सूचना अधिकारी पोखरेलको भनाइ छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले पर्याप्त बजेटका लागि पटक–पटक अनुरोध गरेपनि मन्त्रालयबाट पर्याप्त बजेट नदिइएको जनाएको छ ।
बाली लगाउने मौसममा पैसा तिर्छुभन्दा पनि मल नपाएको गुनासो कृषकको छ ।
वर्षेनि मलको अभावमा कृषक समस्यामा पर्दै आएपनि सरकारले समयमै आवश्यक मल दिन बजेट विनियोजन गरेको छैन ।
पुँजीगत खर्च हुन नसकेर अर्बौं रुपैयाँ सरकारको ढुकुटीमै छ । तर, आर्थिक उत्पादन र कृषकको आम्दानीसँग प्रत्यक्ष सम्बन्ध रहेको मल उपलब्ध गराउने विषयमा सरकार सधैं मौन रहेको देखिन्छ ।