काठमाडौं १० असार । सरकारले तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य गरेपछि व्यवसायीले उपत्यकामा ल्याएर परीक्षण सुरु गरेका छन् ।
आयातित तरकारी भन्सार नाकामै थन्किएपछि उनीहरु स्वयंले कालीमाटी तरकारी बजारमा रहेको विषादी परीक्षण इकाईमा नमुना परीक्षण सुरु गरेका हुन् ।
‘तरकारी नाकामा रोकिएपछि भैरहवा भन्सार कार्यालय, क्वारेन्टाइन कार्यालय र नेपालगन्ज भन्सार कार्यालयबाट नमुना आएका छन्, सोमबारमात्रै करिब ६२ नमुना परीक्षण गरेर रिपोर्ट पठाएका छौं,’ कालीमाटी विषादी परीक्षण इन्चार्ज जागेश्वर शर्माले भने, ‘२५ नमुना परीक्षणकै क्रममा छ । थप नमुना आउने क्रम जारी नै छ ।’ –कान्तिपुर दैनिकबाट