Logo

देउवालाई सिटौला पक्षको चेतावनी



काठमाडौं ११ असार । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले स्थानीय तहका पार्टी संगठनहरू मनोनयनबाट गठन नगर्न सभापतिलाई चेतावनी दिएको छ । सिटौला पक्षीय नेताहरूको मात्रै उपस्थिति रहेको जीपी कोइराला अध्ययन केन्द्रद्वारा सोमबार आयोजित कार्यक्रममा पार्टी संगठन विस्तार नगरी दोस्रो चरणको जागरण अभियान नथाल्न सिटौला पक्षले माग गरेको छ ।

महामन्त्री सिटौलाले संविधान निर्माणको नेतृत्व लिएको कांग्रेसले पार्टी संगठन संघीय संरचनाअनुसार नबनाएको भन्दै सभापति देउवाको आलोचना गरे । उनले स्थानीय संगठन मनोनयनबाट गर्न नपाउने र महासमितिको ‘म्यान्डेट’ विपरीत स्वतः क्षेत्रीय र महाधिवेशन प्रतिनिधि हुने प्रावधानसमेत सच्याउनुपर्ने माग गरे । ‘नेतृत्वको चरित्र र मानसिकतामा परिवर्तन आएको छैन । नेतृत्व केन्द्रीय मानिसिकतामा छ, यसलाई परिवर्तन नगरेसम्म कांग्रेस अघि बढदैन,’ सिटौलाले भने ।

नेता गगन थापाले पार्टीका तल्ला समितिहरू केन्द्रबाट गठन नगर्न सभापतिलाई चेतावनी दिए । ‘विधानको व्यवस्थाबाट मात्रै समितिहरू बन्नुपर्छ,’ उनले भने । पार्टी नियमावली मस्यौदा समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले भागबन्डा र सिधै मनोनयन गर्ने प्रक्रियाबाट स्थानीय तह गठन हुन नसक्ने बताए । पार्टीको विधानअनुसार स्थानीय तहका संरचना अधिवेशनबाट मात्रै गठन गर्नुपर्ने उनको जोड थियो । पौडेलले पार्टीका तल्ला संरचना नबनेसम्म दोस्रो चरणको जागरण अभियान हुन नदिने बताए । अर्का केन्द्रीय सदस्य उमाकान्त चौधरीले भागबन्डाको मानसिकता छाडेर अधिवेशनतिर पार्टीलाई लैजानुपर्ने बताए । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्