असार १५, काठमाण्डौ । श्रृखलावद्ध रुपमा महिलामाथि भएको आक्रमण सिरिन्जबाट नै भएको थियो की काँटीबाट भन्ने विषयमा प्रहरी र पीडितबीचको मत बाझिएको छ । प्रहरीले काँटीबाट आक्रमण भएको दाबी गरिरहदा पीडित परिवारले भने कुनै पनि एङ्गलबाट काँटी भन्न नमिल्ने दावी गरेका छन् । चिकित्सकहरुले भने तिखो वस्तु मात्रै भनेका छन् । स्पष्ट हुन नसक्दा पीडितहरु चिन्तामा छन् ।
आक्रमणको निशानामा परेका महिलाहरु तनावमा छन् । प्रहरीले सामान्य अनुसन्धानकै भरमा दोषी छोड्न नहुने पीडित परिवारको भनाइ छ । उनीहरुले घटनाका विषयमा गम्भीर अनुसन्धान गर्न र पीडितलाई कडा कारबाही गर्न समेत माग गरेका छन । पीडितका परिवारले पनि काँटीले घोचेको हो भन्ने स्वीकार गर्न सकेका छैनन् ।
किलाले घोचेको भन्ने दोषीको बयान पनि गलत भएको पीडित परिवारको तर्क छ । सिरिन्जको चोट र किलाको चोट प्रस्टसँग थाहा हुने भएकाले त्यो चोट अनुसार किलाले नभई सिरिन्जले नै घोचेको उनिहरुको बुझाई छ ।
यो तस्विर हेर्नुहोस् । सबै महिलाको शरिरमा लागेको घाउ यस्तै छ । पीडितहरु यो घाउ किलाबाट लागेको हुनै नसक्ने दाबी गर्छन् । चिकित्सकहरु पनि किल्लाले लागेको डोव ठूलै हुने बताउँछन् । यसरी यो आक्रमण सूइँबाट भयो की किल्लाबाट भन्ने विवादले घटनालाई थप रहस्यमय बनाएको छ । यो घटनालाई समान्य बनाउन खोजिएको आरोपसमेत पीडित पक्षले लगाएका छन् ।
घटनाको अनुसन्धान प्रहरीले गरिरहदा पीडित परिवारमा दोषीलाई छाडिएलाकी भन्ने त्रास देखिएको छ । उनीहरु एचआइभी वा अन्य प्राण घातक रोग हो होइन भन्ने कुराको रिपोर्ट नआएसम्म दोषीलाई छाड्न नहुने बताइराखेका छन् । अुसन्धानको क्रममा प्रहरीले दोषीलाई १–२ हप्तापछि छाड्ला । तर एचआइभी लगायतका प्राणघातक रोग यहि आक्रमणका कारण ६ महिनापछि देखियो भने त्यसको जिम्मा कसले लिन्छ ? हामी कसलाई समाउन जाउँ ? त्यसको क्षतिपूर्ति कसरी पाइन्छ ? उनीहरुको प्रश्न छ ।
चिकित्सकले खुवाएको औषधी र प्रहरीको दाबी अलग अलग भेटिएपछि पीडित परिवार अन्योलमा परेका छन् ।