असार १५, काठमाण्डौ । पछिल्लो समय नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई असुरक्षित भएको बताउने गरेका छन् । दाहालले केही समयअघि विप्लव समुहले आफ्नो हत्या गर्ने योजना बनाएको अभिव्यक्ति दिएका थिए । शनिवार आयोजित एक कार्यक्रममा फेरी उनै दाहालले ठूला ठूला राजनीतिक हत्या हुन सक्ने आशंका व्यक्त गरे ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूला–ठूला राजनीतिक हत्या, प्रतिहत्याका घटनाहरु रोक्ने प्रयासमा सरकार अहिलेसम्म सफल हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
शनिवार काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले मदन भण्डारीको रहस्यमय निधन र तत्कालिन राजा विरेन्द्रको वंशनाश भएको घटना स्मरण गराउँदै फेरी त्यस्तै घटना हुन सक्नेप्रति आशंका व्यक्त गरे ।
विगतका ठूला हत्याकाण्डमा सहभागिलाई कारबाही गर्न नसक्दा फेरी त्यस्तै दुर्घटना दोहोरिन सक्नेप्रति दाहालको भनाई लक्षित थियो । उनले आफूहरु जुनसुकै बेला मारिन सक्नेसमेत बताए ।
आखिर देशकै एक शीर्ष र बलियो सुरक्षा घेराभित्र रहेका नेताले किन ज्यानको असुरक्षा भएको अनभूति गरिरहेका छन् त ? यो विषय गम्भीर छ । तर सुरक्षा मामला जानकारहरुले सत्तारुढ दलकै अध्यक्षले असुरक्षाको महसुस गर्नु लज्जास्पद भएको टिप्पणी गरेका नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्नेतले ।
यसरी बारम्बार हत्या नै हुन सक्ने आशंका व्यक्त भइरहँदा यस विषयमा सुरक्षा निकायले जवाफ दिनुपर्ने बस्नेतको तर्क छ ।
पक्कै पनि सत्तारुढ दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीसमेत रहेको व्यक्तिले आफ्नो वा यही तहका शीर्ष व्यक्तिको हत्या हुन सक्ने अनुमान गर्नु गम्भीर विषय हो । यससम्बन्धमा सरकारले ध्यान दिनु जरुरी छ ।