काठमाडौं १६ असार । डेढ वर्षदेखि भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा र उपप्रमुख खडानन्द बेल्वासेबीच खटपटले विकासका काम प्रभावित भएका छन् । उनीहरूबीचको खटपट आर्थिक वर्ष २०७६/७७ को प्रस्तावित बजेट बनाउने क्रममा नगरसभामै छताछुल्ल भयो ।
प्रमुख–उपमेर, वडाध्यक्षबीच भनाभन भएपछि दुई दिनसम्म नगरसभा अवरुद्ध भयो। योजना अनुगमन, भुक्तानी, सेवासुविधाबारे आरोप–प्रत्यारोप चल्यो। असमझदारीबीच नगरसभा पूरा गरियो। सभामा थापा र बेल्वासेले एकअर्कालाई कटाक्ष पनि गरे।
सभामा नगरप्रमुख थापा एक्लै भए। उपप्रमुख बेल्वासेसहित ९ वटै वडाका वडाध्यक्ष एकातिर भए। स्रोतका अनुसार योजनाको बजेट बाँडफाँट गर्दा कुरा नमिलेपछि विवाद भएको हो। एक्लिएपछि थापा सभा छाडेर दुई घण्टा रोएका थिए। ‘नगरको बजेट योजना बनाउने, कहाँ, कुन योजनामा, कति बजेट राख्ने र सबै जनप्रतिनिधिको भावनाअनुसार काम गर्न नसकेकै कारण रुनु लाजमर्दो कुरा हो,’ वडा नम्बर ३ का अध्यक्ष बालकृष्ण बन्जाडेले भने।
आफ्नो काम, कर्तव्य के हो ख्याल नगरी अनावश्यक अरू जनप्रतिनिधिको काममा हस्तक्षेप गर्ने अनि भत्ताको कुरा उठाएर अतिरञ्जित गर्नु राम्रो नभएको उनको भनाइ छ। ‘बैठक भत्ता र अन्य सेवासुविधाबारे बैठकमा कुरै उठेको छैन,’ उनले भने, ‘बाहिर हल्ला फिँजाएर भ्रम छरियो।’
थापाले शनिबार सदरमुकाममा पत्रकार सम्मेलन गरी उपप्रमुख र वडाध्यक्षहरूले नगरप्रमुखभन्दा आफू ठूलो ठानेकाले समस्या भएको प्रतिक्रिया दिए। ‘मेरो पदलाई नमान्ने, स्वीकार गर्न नसक्ने,’ उनले भने, ‘उहाँहरू (उपप्रमुख, वडाध्यक्ष) का अनुसार नगर चल्दैन।’ नगरसभामा आफूलाई व्यक्तिगत लाञ्छना लगाएर गाली गरेकाले दुःख लागेर रोएको उनले बताए। ‘मन थाम्न सकिनँ,’ उनले भने, ‘धेरैबेर रोएँ।’
नगरलाई भ्रष्टाचारमुक्त र पारदर्शी ढंगले अगाडि बढाउन विकास योजनाको काम भइरहेको उनले बताए। ‘म एक्लै छु, सत्यका लागि लडछु,’ उनले भने, ‘जनताले मूल्यांकन गर्छन्।’ नगर प्रमुख थापाले पदको दुरुपयोग गरेको वडा नम्बर ४ का अध्यक्ष बाबुराम पन्थी सुनारको आरोप छ। ‘बैठकमा भत्ताको विषय नै प्रवेश भएन, सभा गर्ने ढंग नभएर रुने र कराउने अनि बाहिर भत्ता नलिऔं भनेर प्रस्ताव राख्दा म एक्लिएँ भनेर भ्रम छर्ने काम थापाले गरे,’ उनले भने।
थापा र बेल्वासेबीचको व्यक्तिगत कारणले नगरसभा भाँडिने स्थिति आएपछि वडा नम्बर ९ का अध्यक्ष नारायण खनाल, ३ का अध्यक्ष बालकृष्ण बन्जाडेसहितको टोलीले दुवै जनालाई मिलाएर भाँडिनबाट जोगाएको उनले बताए। ‘हामीले उहाँ (थापा र बेल्वासे) को इज्जत जोगाइदियौं, हाम्रो चरित्रहत्या गर्न लुकेर पत्रकार सम्मेलन गर्नु बेठीक हो,’ उनले भने, ‘हामीले फेरि पत्रकार सम्मेलन गरेर प्रमुखका कर्तुत सार्वजनिक गरिदियौं भने के होला?’ प्रमुखले काठमाडौं जाँदाआउँदा र व्यक्तिगत काम गर्दा सरकारी गाडी दुरुपयोग गरेको उनको आरोप छ।
अनुगमन समिति, बजेट तर्जुमा समितिको संयोजक नगरमा उपप्रमुख हुन्छ। थापाले आफैं हस्तक्षेप गर्नु राम्रो नभएको उनले बताए। प्रमुख थापा मदिरा र बेल्वासे हार्डवेयर व्यापारी भएकाले राजनीतिक संस्कारको कमी भएको स्थानीयको भनाइ छ। सानातिना विषयमा पनि झगडा गरेर काममा भाँजो होल्ने काम भएको उनीहरूले बताए।कान्तिपुरबाट