काठमाडौं । डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि जारी छनोट प्रकृया त्रुटिपूर्ण भएको तत्काल रोक्न माग गरेका छन् । केसीले प्रकृया रोकेर नसच्चाए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनले सो पदका लागि आवेदन दिएकाहरु सबै अयोग्य भएको भन्दै नाम फिर्ता लिनुपर्ने पनि बताएका छन् । यसअघि सरकारले चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउन आयोग गठन गरेर उपाध्यक्षका लागि आवेदन मागेको थियो । १५ दिने सुचना जारी गर्दै मागिएको आवेदनअनुसार सो पदका लागि ६ जना वरिष्ठ चिकित्सकहरुको आवेदन दिएका थिए । आवेदन दिने म्याद सोमबार सकिएको छ ।
केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले नियुक्ति प्रकृयाको कर्मकाण्ड देखाएर पन्छिने होइन की योग्य मान्छे खोजेर स्वतन्त्रतापूर्वक काम गर्ने वाताबरण बनाइदिने शर्तमा जिम्मेवारी सुम्पनुपर्छ । त्यसका लागि हाल अघि बढेको उम्मेदवारहरुको छनोट प्रकृया तत्काल रोक्न सरकारसाग माग गर्दछौँ ।’
केसीले सरकारले आफूलाई पटक–पटक झुक्याउदै आएको, सहमतिहरु उल्लङ्घन गरेको आरोप लगाएका छन् । उनले उपाध्यक्ष नियुक्ति प्रकृया नरोके आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम