Logo

बास्कोटालाई शर्माको काउण्टर– हलेदो भनेर चिनिसकेपछि…



असार २६, काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको अभिव्यक्तिलाई लिएर कडा आपत्ती जनाएका छन् ।

बिहीबार नियमित पत्रकार सम्मेलनका क्रममा विप्लवबारे कांग्रेसको धारणा माग्दै प्रवक्ता तथा मन्त्री बास्कोटाले कांग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई समर्थन गरेको आरोप लगाएका थिए ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले भनेका थिए–‘हिंसाबारे कांग्रेसको धारणा के ? बन्द हुनुपर्छ वा विप्लवजीहरुले गरेको हिंसा बैध हो ? कांग्रेसले हिंसा र निषेधको राजनीतिलाई एउटै घानमा मुछ्ने हो भने दिनभरि वीपी, रातभरि विप्लव हो ?’

बास्कोटोको यही अभिव्यक्तिलाई लिएर कांग्रेस प्रवक्ता शर्मा आक्रोषित भएका छन् । शर्माले सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता बास्कोटालाई सम्हाल्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् ।

उनले ट्विटमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । प्रवक्ता शर्माले ‘प्रधानमन्त्री नै जब असंसदीय शब्द बोल्नुहुन्छ संसदमा तब कुनै फोटोकपी मन्त्रीसँग संस्कारको अपेक्षा कसरी गर्नु भनेर व्यङ्ग्य गरेका छन् ।

शर्माले अराजनीतिक बोलिको जवाफ दिंदै हिंड्नु उचित नहुने पनि बताएका छन् । शर्माले लेखेका छन्– भनाइ छ हलेदो भनेर चिनिसकेपछी धेरै कोट्याउनु हुन्न ।

प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै शर्माले लगाम उपहार पठाउं कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री भन्दै चेतावनी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्