काठमाडौं । अखिल नेपाल फुटबल एशोसिएशनका पूर्व अध्यक्ष तथा पूर्व सभासद गणेश थापाले ५८ करोड भ्रष्टाचार काण्डबारे रुँदै पर्दाफास गरेका छन् । ३५ वर्ष फुटबल खेलमा समय व्यतित गरेका थापा भ्रष्टाचार काण्डमा समेत मुछिएका थिए । एन्फाको जिम्मेवारीमा रहेकै बेला थापाको नाम भ्रष्टाचार काण्डमा मुछिँदा चौतर्फी विभिन्न टिकाटिप्पणी भएको थियो । मंगलबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा थापाले आफ्नो जीवनको विगतदेखि वर्तमानसम्म खुलेर कुरा गरेका छन् ।
उनले आफू एन्फाको नेतृत्व हुँदा ५८ करोड भ्रष्टाचार गरेको भन्ने कुरा पूरै निराधान रहेको पनि दाबी गरे । उनले भने,”मैले एन्फामा बसेर एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन । भन्नलाई त ५८ करोड भ्रष्टाचार गर्यो भनियो । तर, जम्मा बजेट नै ५८ करोड थियो । यो सरासर गलत आरोप थियो ।” उनले आफूले एन्फामा एक रुपैयाँपनि भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने त्यसको सजाय भोग्न तयार रहेको सार्वजनिक चूनौति दिए ।
१५ वर्ष नेश्नल टिममै खेलाडीको रुपमा फुटबल खेलेका थापा निकै हकी स्वभावका कारण खेल जगतमा चिनिन्छन् । आफ्नो पुस्ताले नै नेपालको फुटबल खेललाई अन्तर्राष्टिय रुपमा चिनाएको उनको दाबी छ । त्यतिवेला नेपालले विभिन्न विश्वस्तरीय प्रतियोगितामा राम्रो प्रदर्शन देखाएको पनि थापाले स्मरण गराए । साफ गेममा त स्वर्ण पदक नै हात पारेको पनि उनले सुनाए । थापाले अहिलेपनि सरकारले खेल क्षेत्रमा न्यून लगानी गरेको आरोप लगाए । उनकाअनुसार सरकारको प्राथमिकतामा अहिलेपनि खेल क्षेत्र पर्न सकेको छैन ।