Logo

‘विप्लवसँग एकता गर्छौं, हतियार उठाउँछौं’



काठमाडौं, ४ साउन । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्यले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने र हतियार उठाउने घोषणा गरेका छन् ।

आज राति प्राईम टाईम टाईम्स टेलिजिभनबाट आज राति ८ः०० बजे प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा महासचिव बैद्यले यस्तो घोषणा गरेका हुन् । उनले एकताको लागि विप्लवसँग कुराकानी भैरहेको सुनाए । ‘प्हिला हामी गठबन्धन गछौं । त्यसपछि राजनीतिक मुद्दामा सहकार्य गर्छौं । अन्ततः हामी एकता गर्छौं।’

उनले विप्लवसँगको एकतासँगै अहिले कायम रहेको संसदीय व्यवस्थालाई ध्वस्त पार्ने पनि चेतावनी दिए । उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ असली कम्युनिष्ट नै नभएको पनि आरोप लगाए ।
उनले भनेका छन्,‘उनीहरु असली कम्युनिष्ट नै होईनन् । कम्युनिष्टको नाममा बरु बदनाम बनाउने काम गरेका छन् । उनीहरुले देशलाई सही दिशामा अघि बढाउन सक्दैनन् ।’

मुलुकमा अझै जनवादी क्रान्तिको आवश्यकत्ता औंल्याउँदै त्यसको लागि आफूहरु तयारीमा जुटिसकेको पनि उनको भनाई छ । उनले भने,‘हामीले त यो कुरा पहिल्यैदेखि भन्दै आएका छौं । जनवादी क्रान्ति आजको अनिवार्य आवश्यकत्ता छ । समयले हामीलाई यो अभिभारा पूरा गर्न जिम्मा दिएको छ । हामी त्यो कुरा पूरा गरेरै छोड्छौं ।’

फरक प्रसँगमा उनले प्रचण्ड, बाबुरामलगायतका पूराना सहयोद्धाहरुसँग सुमधुर सम्बन्ध रहेको सुनाए । नेकपाका अध्यक्ष प्रचण्ड फेरि प्रधानमन्त्री बने घरमै गएर शुभकामना दिनपनि आफू तयार रहेको उनले विश्वास दिलाए । उनले भने,‘प्रचण्डजी प्रधानमन्त्री बन्नुभयो भने म उहाँलाई शुभकामना दिन घरमै जान्छु । अहिले पनि म, प्रचण्डजी र बाबुरामजीबीच कुराकानी भैरहेको छ।’



प्रतिक्रिया दिनुहोस्