काठमाडौं । नेपालमा आयोजना भएको दक्षिण एसियाली महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ । सरकारले साफ उपविजेता बनेको महिला टोलीलाई बुधबार नगदसहित सम्मानित गरेको हो ।
सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारले नेपाली टोलीलाई जनही ३२ हजार ५ सय नगद र सम्मान पत्रले सम्मान गरेको हो । सम्मानित हुने नेपाली टोलीमा २० सदसीय खेलाडी र एक प्रशिक्षक रहेका छन् ।
खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्मा, राखेप सदस्यसचिव रमेश सिलवाल, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, खेलकुद मन्त्रालयका सचिव कृष्ण प्रसाद देबकोटा लगायतले पुरस्कृत गरे ।
गत फागुनमा विराटनगरमा सम्पन्न प्रतियोगितामा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । नेपाली टोलीलाई सोमबार विराटनगर महानगरपालिकाले जनही ५० हजार र मंगलबार प्रदेश १ सरकारले जनही १ लाखले सम्मानित गरेको थियो ।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम