काठमाडौं,साउन ८ । फिल्म निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरूद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।पक्राउ पुर्जी जारी गरेपछि ओझा र पोखरेल लुकेर बसेको चर्चा छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले ओझा र पोखरेललाई पक्राउ गर्न बुधबार पक्राउ पुर्जी जारी गरेको हो । एसपी अशोक सिंहका अनुसार छवि र शिल्पाविरूद्ध अदालतमा बहुविवाहको मुद्दा दर्ता भएपछि पक्राउ पुर्जी जारी गरिएको छ ।
छविकी जेठी पत्नी हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा छविविरूद्ध बहुविवाहको उजुरी हालेकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले ओझा र पोखरेललाई खोजतलास सुरु गरेको हो ।
उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको बताएकी छन् ।नयाँ मुलुकी संहिताअनुसार बहुविवाह गर्ने पुरूष र महिलालाई १ देखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँ जरिमाना हुनसक्छ ।