एजेन्सी । विश्वभरका फुटबल स्टारहरु चीनमा तानिन थालेका छन् । चीनको फुटबल लिग चाइनिज सुपर लिगमा विश्वका चर्चित खेलाडीहरुको आकर्षण बढ्नुमा पैसा मुख्य कारण रहेको छ ।
चीनको फुटबल लिगमा क्लबहरुले युरोपको क्लबहरुले भन्दा बढी तलब र सुविधा दिन थालेका छन् । दिनकै एक करोड नेपाली रुपैयाँ भन्दा बढी तलब पाउन थालेपछि खेलाडीहरु चीनतर्फ आकर्षित भइरहेका छन् ।
अहिले विश्व चर्चित खेलाडीहरुले चीनमा दैनिक ५० लाख देखि दुई करोडसम्म तलब पाउँछन् । जसमा अस्कर, पेले, हल्कलगायत मुख्य छन् । अब वेल्सका स्टार ग्यारेथ बेल्स पनि चीन पुग्दैछन् । त्यहाँ उनको कमाई दैनिक दुई करोड नेपाली रुपैयाँभन्दा बढी हुनेछ ।
बेल रियल मेड्रिड छाडेर चीन जाने निश्चित भइसकेको छ । उनले रियल मेड्रिड छाडेर चिनियाँ क्लबमा तीन वर्षसम्मका लागि सम्झौता गर्दैछन् ।
बेलले चीनमा रहँदा हप्ताको दश लाख पाउण्ड आम्दानी गर्नेछन् । यो १५ करोड नेपाली रुपैयाँ हुनआउँछ । जुन चीनमा खेलिरहेका खेलाडीहरुमध्येको बढी हो ।
इटालीका अग्रपंक्तिका खेलाडी इडर र ब्राजिलका मध्यपंक्तिका एलेक्स टिजेरा पनि चिनियाँ क्लबमा छन् । उनीहरुलई ठूलो पैसा तिरेर लगिएको थियो ।
ब्राजिलका रिनेटो अगुष्टो बेइजिङ गुओआनबाट खेलिरहेका छन् । नाइजेरियाली खेलाडी जोन ओबी मिकल टियाजिन टेडाबाट छेल्छन् । उनी चेल्सी छाडेर चिनियाँ क्लब पुगेका हुन् । चेल्सीकै पूर्व खेलाडी रमिरेज चीनको जियाङसु सुनिङबाट खेल्छन् ।
ब्राजिलका पाउलिनी गुआङजो इभरग्रान्डेबाट खेल्छन् । ब्राजिलकै हल्क सांघाईबाट खेल्छन् । चेल्सीका पूर्व मिडिफिल्डर अस्कर पनि सांघाईबाट खेल्छन् । उनले युरोपेली क्लब छाडेर चीन जानुलाई पैसा मुख्य कारण रहेको चर्चा चल्यो । साउथएप्टन छाडेका ग्राजिआनो पेले साङडोङ लुनेङबाट खेल्छन् ।
अर्जेन्टिनी खेलाडी जाभियर मास्चेरानो चीनको हेवई चाइना फर्चुनबाट खेल्छन् । उनले बार्सिलोना छाडेर चिनियाँ क्लब रोजेका हुन् ।
चिनियाँ राष्ट्रपति सि जिङपिङले चीनलाई फुटबलको नेतृत्वदायी देश बनाउने महत्वाकांक्षा राखेपछि त्यहाँ फुटबलमा लगानी बढेको हो । चिनियाँ क्लबहरुमा निकै पैसा खर्च गर्ने क्षमता छ । यसले पनि उनीहरु सँसारका नाम चलेका फुटबल स्टारहरुलाई आवद्ध गराउन थालेका छन् ।
सन् २०१८ मा सबैभन्दा बढी अस्करको तलब हप्ताको चार लाख पाउन्ड थियो । हल्कको तीन लाख २० हजार, एलेक्स विट्सेलको तीन लाख, पेलेको दुई लाख ९० हजार, घानाका असामोआ ग्यानको दुई लाख २७ हजार, रमिरेजको दुई लाख २० हजार, ज्याक्सन मार्टिनेजको दुई लाख १० हजार, एलेक्स टिजेराको दुई लाख १० हजार र बुराक इल्माजको डेढ लाख पाण्न्ड हप्ताकै तलब छ ।
विगतमा अर्जेन्टिनी स्टार कार्लोस टेभेज, आइभोरी कोष्टका स्टार डिडेर ड्रोग्वा पनि चिनियाँ क्लबमा आवद्ध भएका थिए । चिनियाँ क्लबले युरोपेली क्लबले भन्दा बढी पैसा दिएपछि उनीहरु चीन पुगेका थिए । Photo: wikipedia, goal.com