काठमाडौं, १५ साउन । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सपथ ग्रहण गरेलगत्तै कार्यभार सम्हालेका छन् । बुधबार दिउँसो राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिएसँगै मन्त्री भट्टराईले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर कार्यभार सम्हालेका हुन् ।
पदभार सम्हालेसँगै कार्यकक्षमै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री भट्टराईले आफू काम लगाउनभन्दा पनि सिक्न आएको बताएका छन् । ‘म काम लगाउन आएको होइन, सिक्न आएको हो’ उनले थपे,‘सबैले मिलेर काम गरेमा अघि बढ्ने सकिन्छ ।’ स्वर्गीय रवीन्द्र अधिकारीको स्मरण गर्दै मन्त्री भट्टराईले आफूले अधिकारीका अपुरा काम पूरा गर्ने प्रतिबद्धता व्यक्त पनि गरे ।
भट्टराईले आफू रवीन्द्रको उत्तराधिकारीकै रुपमा आएको बताए । ‘आज उहाँको कुर्सीमा छु, म उत्तराधिकारी जस्तो भएर आएको छु, यसो भन्दा मलाई अफसोच छैन । म रवीन्द्र अधिकारीको उत्तराधिकारी भएको छु ।’
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम