काठमाडौं १७ साउन । आर्जन पाण्डेले गाएको ‘घाँटीभन्दा तल त राम्री छे’ बोलको गीतले निकै चर्चा पाएको छ । गीत निकै राम्रो भएर भन्दापनि गीतमा प्रयोग भएका शब्दका कारण चर्चित बनेको हो । एक हप्ताअघि युट्युबमा अपलोड भएको यो गीत अहिले ट्रेन्डिङमा छ । तर गीतमा प्रयोग भएका शब्दले महिलाको अपमान भएको भन्दै सामाजिक सञ्जाल तातेको छ । ‘घाँटीभन्दा तल त राम्री नै छे’ यसको मतलव कुनै युवती राम्री हुन घाँटीभन्दा तलका अंग राम्रो हुनुपर्छ । अनुहार र सम्पूर्ण शरीर नै नहेरी कुनै पुरुषले महिलालाई राम्रोको दर्जा भिराइदिन्छ भन्ने आसयका कमेन्ट पोस्ट भएका छन् ।
पतिसँग पार्टीमा आएकी कुनै विवाहित महिलालाई एउटा युवकले लास्टै मन पराएको र पट्याइदिने रहर भएको बताउँछ । आर्जन पाण्डेको स्वरमा रहेको यो गीतमा आर्जन पाण्डे, रीमा विश्वकर्मा र पवन गिरीको अभिनय छ । प्रतीक पौडेलको संगीत, कोविद वज्राचार्यको एरेन्ज, दी झोले प्रोडक्सनको कन्सेप्टमा यो गीतको भिडियो तयार भएको हो । भिडियो निर्देशन अस्ट्रो झोलेले गरेका छन् ।
चर्चामा आउन गीतमा जे मन लायो त्यही शब्द प्रयोग गरिएको आरोप लागेको छ भने भिडियोमा अभिनय गर्ने रीमालाई पनि पैसाका लागि जे पनि गरेको आरोप सामाजिक सञ्जालमा लगाइएको छ । उनीमाथि आफू महिला भएर समग्र महिलाको अपमान हुने गरी बनाइएको गीतमा बिनासंकोच अभिनय गरेको कमेन्ट छ । रीमाले भने यसबारे आफू अहिले केही नबोल्ने जवाफ दिइन् । अभिनय गर्नु आफ्नो काम भएको बताउँदै उनले बोल्नुपर्छ भन्ने लागेको दिन सार्वजनिक प्रतिक्रिया दिने बताइन् । अन्नपूर्णपोष्टबाट