काठमाडौं, १८ साउन । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले विदेशीको पैसाले चुनाव लडेका प्रमुख दलका नेताहरुले स्वाभिमानपूर्वक काम गर्न नसकेको आरोप लगाएका छन् । पार्टीको विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दे अध्यक्ष थापाले यस्तो टिप्पणी गरेका हुन् ।
थापाले गम्भिर आरोप लगाउँदै भने,”आफूलाई प्रमुख भन्ने ठूला पार्टी आन्दोलन गर्दा, चुनाव लड्दा विदेशीको पैसा लिन्छन्। जसले विदेशीको पैसा लिन्छ त्यसले स्वाभिमानपूर्वक काम गर्न सक्दैन।” कांग्रेस र कम्युनिष्टले बोकेको विचार र हिँडेको बाटो नै गलत भएकोले त्यसको विकल्पमा आफ्नो पार्टी खडा भएको उनको भनाई छ ।
उनले प्रमुख दलहरुले मुलुकलाई तेह्र वर्षदेखि गलत बाटोमा हिँडाएको आरोप लगाए । उनले सर्वत्र मौलाउदै गईरहेको भ्रष्टाचार, नातावाद र कृपावादको प्रतिकारका लागि संगठन सुदृढ बनाउदै तयारी अवस्थामा रहन विद्यार्थी संगठनलाई निर्देशन दिए।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम