काठमाडौं १९ साउन । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शनिबार प्राध्यापक लालुप्रसाद पौडेल नियुक्त भएका छन् ।त्रिवि भूगर्भ विभागका प्रमुख पौडेललाई प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओली उपचार लागि सिंगापुर उडनुअघि नियुक्ति दिएका हुन् ।
त्यस्तै सेवा आयोगका सदस्यमा प्राध्यापक डा. हेमराज ढकाल नियुक्त भएका छन् । उनी शिक्षा शास्त्र संकायको शैक्षिक योजना तथा व्यवस्थापन समितिका सदस्य हुन् । पर्वतका पौडेल पूर्वएमाले र गोरखाका ढकाल पूर्वमाओवादी निकट हुन् ।
शिक्षामन्त्री तथा सहकुलपति गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन भएको ३ सदस्यीय सिफारिस समितिले उनीहरु दुई जनाको नाम सिफारिश गरेको थियो । ‘सिफारिस समितिले अध्यक्ष र सदस्यको नाम दिएपछि प्रधानमन्त्रीले नियुक्ति दिने निर्णय गर्नुभयो,’ मन्त्री पोखरेलले कान्तिपुरसँग भने ।
शनिबार नाम सिफारिश गरे लगत्तै उनीहरुलाई नियुक्ति दिइएको हो । उनीहरुले नियुक्ति पत्र भने बुझिसकेका छैनन् । तत्कालीन अध्यक्ष, सदस्य र प्रशासकीय प्रमुख सहित १० जना विरुद्ध कर्मचारी भर्नामा अनियमितिता गरेको आरोपमा अख्तियारले मुद्दा चलाएपछि झण्डै एकमहिनादेखि सेवा आयोग पदाधिकारी विहीन बनेको थियो । शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा गत साउन १४ गते भौतिक शास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. विनिल अर्याल र व्यवस्थापन संकायका डीन प्राध्यापक डा. डिल्लीराज शर्मा सदस्य रहेको सिफारिस समिति गठन भएको थियो । शनिबार सिफारिस समितिको बैठक बसेर अध्यक्ष र सदस्यको नाम सिफारिश गरेको हो ।
तत्कालिन अध्यक्ष चैतन्य शर्मा मुद्दाका कारण निलम्बित भएसँगै गत साउन ५ गते तीन वर्षे कार्यकाल सकिएर स्वतः पदमुक्त भएका थिए । सदस्य चिन्तामणि पोखरेल निलम्बित भएपनि उनको समयावधी २०७७ कात्तिकसम्म बाँकी छ । प्रशासकीय प्रमुख पर्शुराम कोइराला समेत खुल्ला प्रतिस्पर्धाको परीक्षार्थीको अंक फेरबदल गरेकोमा निलम्बन परेका छन् । त्यसका कारण सेवा अयोगको दैनिक कामकाज प्रभावित हुँदै आएको छ । सदस्य पोखरेलको मुद्दा किराना नलाग्दै ढकाललाई नियुक्त दिने निर्णय भएको हो ।
भाद्र ५ गतेदेखि हुने उपप्राध्यापक पदको परीक्षा समेत अन्यौलमा छ । अख्तियारले मुद्दा दायर गरेका बाहेक खुल्ला प्रतिस्पर्धाको अन्य पदको अन्तिम नतिजासमेत आउन सकेको छैन । अध्यक्षले मात्र परीक्षा लगायत आयोगका महत्वपूर्ण निर्णयहरु गर्न नसक्ने हुनसक्ने हुँदा सदस्य समेत एकैपटक नियुक्त गरिएको स्रोतले जनाएको छ । ३ सदस्यीय आयोगमा लोकसेवा अयोगका सदस्य ब्रम्हदेव राय पनि सदस्य छन् ।कान्तिपुरबाट