काठमाडौं, २३ साउन । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले पोखरा–९ स्थित गण्डकी प्रदेश सङ्ग्रहालयमा नवनिर्मित प्रदर्शनी कक्षको आज एक समारोहबीच उद्घाटन गरेका छन् ।
पुरातत्व विभागद्वारा निर्मित सो प्रदर्शनी कक्षमा विष्णु, भीमसेन, तिब्बती कलाशैलीको लामा धर्म गुरु र हिमाली लामाको मूर्तिलगायत १८ औँ शताब्दीका मूर्तिहरु राखिएको छ । साथै तमु समुदाय अर्थात् गुरुङको तीन पुरोहित क्रमशः पच्यू, कलेप्री र वोन्पोलामका मूर्ति पनि प्रदर्शनी कक्षमा राखिएको छ ।
त्यस्तै पर्यटकहरुलाई दुई सय पुरानो नेपालको संस्कृतिलगायतका विषयमा जानकारी गराउनका लागि दमाहाजस्तै सानो आकारको एकनाले बाजा ट्र्याम्पो, गन्धर्व जातिको लोकबाजा, ढ्याङ्ग्रोलाई गजाको सहायताले बजाउने बाजा, ढोलक, डम्पूm र मादललगायतका पुरातात्विक वस्तुहरुसमेत प्रदर्शनी कक्षमा राखिएको गण्डकी प्रदेश सङ्ग्रहालयको कार्यालयले जनाएको छ ।
सो अवसरमा मन्त्री पुनले प्रदेश सङ्ग्रहालयलाई नमूनाको सङ्ग्रहालय बनाउनका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउँदै प्रदर्शनी कक्षलाई आयआर्जनका साथै अध्ययनको थलोका रुपमा विकास गर्नुपर्ने र यसका लागि प्रदेश सरकारको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।
रासस