काठमाडौं । सन् १९३३ मा लिइएको यो तस्बिरको कहानी निकै सुन्दर छ । तस्विरमा देखिएका जर्मन नेता तथा ६० लाख यहुदीका हत्याको जिम्मेवार एडोल्फ हिटलर र अर्की यहूदी मूलकी एक बालिका रोजा बर्नाइल निनाओ हुँन् । हेनरिक हाफम्यानले खिचेको यो तस्विर केहि समय पहिले मात्र ११ हजार पाँच सय २० डलरमा लिलामी भएपछि अहिले उक्त तस्विरले संसारलाई विश्वयुद्व सम्झन वाध्य बनाएको छ ।
वरिष्ठ नाजी अधिकारीको हस्तक्षेपसम्म हिटलर र यी बालिकाबीचको दोस्ती निकै सुन्दर थियो तर पछि यसको अन्त्य भएको भनिन्छ ।
तस्बिर हेर्दा हिटलर र बालिकाबीचको सम्बन्ध प्रेमपूर्ण र वास्तविक लाग्छ, यही नै यो तस्बिरको विशेषता हो ।
कसरी बस्यो प्रेम
एजेन्सीका अनुसार अप्रिल २० मा आफ्नो जन्मदिनमा हिटलरको यी बालिकासँग भेट भएको रहेछ। रोजा र उनकी आमा क्यारोलिन सन् १९३३ मा बालिकाको जन्मदिनमा आल्प्सस्थित हिटलर निवास ‘बर्गोफ’ बाहिर जुटेको भीडमा समावेश भइन ।
जब हिटलरलाई त्यसदिन रोजाको पनि जन्मदिन भएको थाहा भयो तब हिटलरले रोजा र उनकी आमा क्यारोलिनलाई आफ्नो घरमा आमन्त्रित गरे र सोहि अवसरमा उक्त तस्बिर खिचिएको थियो ।
हिटलर यहूदी विरोधी थिए । केही समयपछि थाहा भयो कि क्यारोलिनकी आमा यहूदी थिइन् ।तर यसले हिटलर र रोजाको दोस्तीमा कुनै फरक पारेन । हिटलरले नै आफ्नो हस्ताक्षरित तस्बिर रोजालाई पठाएका थिए । उनले लेखेका थिए, ‘प्रिय रोजा निनाओ, एडोल्फ हिटलर, म्यूनिख, १६ जून, १९३३ ।’ यस्तो लाग्छ कि रोजाले पछि तस्बिरमा आफ्नो स्ट्याम्प लगाइन्, कालो र सेतो रङको फूल बनाइन् ।
सन् १९३५ र १९३८ बीच रोजाले हिटलर र उनका नजिकका विलहेम ब्रक्नरलाई कम्तीमा पनि १७ पटक चिट्ठी लेखिन् । त्यसपछि हिटलरका नीजि सचिव मार्टिन बार्मनले रोजा र उनकी आमालाई हिटलरसँग कुनै पनि सम्बन्ध नराख्न आदेश दिए ।जुन आदेशले हिटलर खुसी थिएनन् ।
दुःखद् अन्त्य
हाफम्यानले सन् १९५५ मा छापेको ‘हिटलर माय फ्रेन्ड’ किताबमा दुबैको अर्को तस्बिर पनि समावेश गरेका छन् जसको क्याप्सन छ, ‘हिटलरको प्रेमः उनी उसलाई बर्गोफ हिटलरको आवासमा देख्न चाहन्थे तर कसैलाई थाहा भयो कि उनी आर्य वंशकी होइनन् ।’
हिटलरको नीजि सचिवको तर्फबाट रोजा र हिटलरको सम्पर्क बन्द गराएको अर्को वर्ष दोस्रो विश्वयुद्ध सुरु भयो । ६ वर्षपछि जब युद्ध अन्त्य भयो तब ६० लाख यहूदीको मृत्यु भइसकेको थियो । युद्धकै क्रममा रोजाको पनि मृत्यु भयो । हिटलरसँग पहिलो भेट भएको एक दशकपछि सन् १९४३ मा म्यूनिखको एक अस्पतालमा १७ वर्षको उमेरमा पोलियोले रोजाको ज्यान लिएको थियो।-एजेन्सी