रिपोर्टर्स नेपाल खोजः राजा वीरेन्द्रको सम्पत्तिको खोजी चलिरहेको छ । वीरेन्द्रको वंशनाशपछि खोजी गरी जर्गेना गरिएकोमा झण्डै एक अरब रुपैयाँ नगद मौज्दात रहेको छ । २१ हजार रोपनी काठमडौं उपत्यकाभित्र र बाहिर महत्वपूर्ण स्थानहरुमा छन् ।
नेपाल ट्रष्टलाई वैधानिक रुपमा स्थापना गरी ती सम्पत्तिको जर्गेना गरिएपनि त्यसमाथि आँखा लगाउन राजनीतिक दलका जिम्मेवार नेता देखि व्यापारीहरु सक्रिय भएका छन् । राजनीतिक प्रभाव र कानुनको छिद्र खोज्दै हात पार्ने प्रतिष्पर्धा चलिरहेको छ ।
वीरेन्द्रको नामको सम्पत्तिमध्येको आकर्षक गोकर्णस्थित गल्फ कोर्ससहितको रिसोर्ट पर्दछ । प्रतिरोपनी वार्षिक ९ हजारमा उक्त क्षेत्रफलको जग्गा भाडामा छ । ३ हजार ९ सय ७१ रोपनी ३ आना ३ पैसा जग्गामध्ये २ हजार ९ सय ७१ रोपनी ६ आना ३ पैसा १ दाम जग्गा राजा वीरेन्द्रकै पालादेखि एल एम सुविर ब्रदर्श नेपाल प्रा.लि. र यति होल्डिङ्गस प्रा.लि. लाई ३० वर्षका लागि लिजमा दिइएको हो । लिज सम्झौता अनुसार सन् २०१६ देखि २०२१ सम्म प्रतिवर्ष २ लाख ४० हजार डलर तिर्दै आएको छ । उक्त जग्गाको वार्षिक भाडा रकम २ लाख ४० हजार डलरलाई आधार मान्दा प्रति रोपनी वार्षिक ८० डलर हुनआएको हो ।
५ रोपनी २ पैसामा बनेको कमलादीस्थित भवन काठमाडौं प्लाजाले प्रयोग गर्दै आएको छ । जग्गाको लिज अवधि २ असार २०७७ मा सकिदैछ । कन्सेप्ट डेभलपर्स प्रा.लि.ले काठमाडौं प्लाजालाई वार्षिक ७५ लाख रुपैयाँ तिर्छ । नेपाल ट्रष्टको लाजिम्पाटस्थित ६ रोपनी १३ आना १ पैसा क्षेत्रफलको जग्गा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले प्रयोग गर्दै आएको छ । सन् २००५ देखि १५ वर्षका लागि लिजमा लिएकोमा पुनः लिज सम्झौता भई हाल वार्षिक एक करोड ३ लाख ७१ हजार ३ सय २४ रुपैयाँ भाडा तिर्दै आएको छ ।
१९ रोपनी १२ आना क्षेत्रफलको टेकुस्थित बिजनेश पार्क रहेको जग्गा २०६६ माघ ५ मा टाउन डेभलपर्स प्रा.लि. ले लिजमा लिएकोमा हाल वार्षिक ४० लाख भाडा तिर्दै आएको छ । सोल्टी आउटर कम्प्लेक्सलाई कालिमाटीस्थित ५ रोपनी ६ आना २ पैसा आधा दाम जग्गामा फैलिएको सटरहरु भाडामा दिइएको छ । कुल सातवटा सटरसहितका जग्गाको वार्षिक भाडा १५ लाख ४५ हजार ६ सय रहेको छ ।
गरिबी निवारण कोषले मासिक भाडा एक लाख ८६ हजार तिर्ने गरी सोल्टीमोडको जग्गा उपभोग गर्दै आएको छ । काठमाडौंस्थित रेडक्रसमार्गको भवन र जग्गा सार्वजनिक खरिद तथा अनुगमन कार्यालयलाई वार्षिक १२ लाख रुपैयाँमा तिर्नेगरी भाडा दिइएको छ । कमलादीस्थित २ रोपनी १२ आना जग्गा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मासिक ५५ हजार ८ सय ७३ रुपैयाँ २० पैसा भाडा तिरेर उपयोग गर्दै आएको छ ।
धनकुटाको चुलिवनमा रहेको १९४ रोपनी जग्गामध्ये १३४ रोपनी जग्गा निजामती आवाशीय विद्यालयले वार्षिक दुई लाख रुपैयाँ भाडा तिरेर उपभोग गर्दै आएको छ ।
नेपाल ट्रष्टको झण्डै एक अरब मौज्दात रकम मध्ये अधिकांश नबिल बैंकमा छ । नेपाल औद्योगिक विकास निगम र होटल डेला अन्नपूर्णमा गरी भण्डै पाँच लाख कित्ता शेयर रहेको छ ।
ट्रष्टको नाममा २१ हजार पाँच सय ६२ रोपनी चार आना दुई पैसा एक दाम जग्गा रहेको छ । जग्गा खोजी कार्य जारी रहेकाले वृद्धि हुने सम्भावना छ । भक्तपुर, काठमाडौं र ललितपुरमा जग्गाहरु पत्ता लागेका छन् ।
ट्रष्टको सम्पत्तिको प्रयोग
नेपाल राजपत्रमा २०६५ ४ चैत्र मा प्रकाशित नेपाल ट्रष्ट नियमावली, २०६५ ले बुँदा नम्बर ३ मा ट्रष्टको सम्पत्ति प्रयोग शिर्षकमा भनेको छ, ‘समितिले ट्रष्टको सम्पत्ति ऐनको दफा ५ बमोजिम व्यापक र सर्वोत्तम सार्वजनिक लाभ हुने गरी शैक्षिक, प्राज्ञिक तथा स्वास्थ्य सम्बन्धी राष्ट्रहितका कार्यमा प्रयोग गर्नुपर्नेछ ।’ Photo Source: Digital Drawing by Sajan Rajbhandari/dribbble.com