काठमाडौं, २६ साउन । नेपालका एक मात्र डलर अर्बपति डा. विनोद कुमार चौधरी व्यापार व्यवसायसँगै अहिले राजनीतिमा पनि सक्रिय छन् । उनी कांग्रेसबाट समानुपातिक सांसद हुन् । चौधरीको यो पहिलो संसदीय अनुभव भने होईन् । यसअघि उनी तत्कालिन नेकपा एमालेबाट संसद भैसकेका थिए । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीसँग सुमधुर सम्बन्ध रहेका चौधरीले उनकै कारणले आफूलाई एमालेमा सक्रिय बनाएका थिए ।
नेपालको राजनीतिलाई नजिकबाट नियालेका चौधरीले कांग्रेस रोज्नुमा उसले लिएको उदार आर्थिक नीति नै मुख्य रहेको बुझिएको छ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालासँग सुमधुर सम्बन्ध रहेका चौधरीलाई विशेष भूमिका दिनुपर्ने आवाजसमेत कांग्रेसभित्र उठेको छ । उनको नाम समानुपातिक सूचिमा राख्दा नै कांग्रेसले उद्योगी व्यवसायी र कुशल व्यवस्थापकको रुपमा उनलाई स्वागत गरेको जनाएको थियो । अर्थतन्त्रमा कांग्रेसले लिएर आएको उदारवादी अर्थतन्त्र अभियानमा सघाउन चौधरीले कांग्रेसलाई साथ दिएका थिए ।
चौधरीलाई केन्द्रिय कार्यसमितिमा ल्याउनुपर्ने आवाज कांग्रेस महामन्त्री कोइरालामात्रै नभएर अन्य प्रभावशाली नेताहरुले समेत उठाउँदै आएका छन् । भारतका लागि पूर्वराजदुत तथा कांग्रेस नेता दिपकुमार उपाध्यायले पनि चौधरीलाई विशेष भूमिका दिनुपर्ने बताएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले चौधरीलाई उद्योग वा आर्थिक विभागको नेतृत्व दिनेगरि जिम्मेवारी दिनुपर्ने बताएका छन् ।