भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ विदेशमन्त्री वाङ यीसँग बेइजिङमा भेटवार्ता गरेका छन् । तीन दिने चीन भ्रमणमा रहेका उनले विश्वले अन्यौलताको अवस्थाको सामना गरिरहँदा पनि भारत र चीनको सम्बन्ध स्थिरता ल्याउने कारक बन्नुपर्ने बताएका छन् ।
वाङसँगको भेटमा उनले दुवै देश विश्वमा अन्यौलता आउँदा पनि भारत र चीनबीचको सम्बन्ध स्थिरताको कारक बन्नुपर्ने सहमतिमा पुगेको खुलाएको भारतीय संचारमाध्यमले जनाएका छन् । विगतको सहमति अनुसार नै क्षेत्रीय विषयका दायराहरु अझ फराकिलो भएको बताए ।
तीन दिने भ्रमणका लागि बेइजिङ पुगेका जयशंकर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेश भ्रमण गर्ने पहिलो उच्च अधिकारी हुन् । जयशंकरले चीनबाट भ्रमण शुरु गर्नुलाई निकै अर्थपूर्ण मानिएको छ । उनी विदेश मन्त्रालयको कर्मचारी हुँदा चीनका लागि राजदूत समेत बनेका थिए । चीनसँगको सम्बन्धलाई मोदी सरकारले उच्च प्राथमिकतामा राखेको सन्देश हो यो ।