–राजेन्द्रप्रसाद पनेरु : कञ्चनपुरको झलारीमा शाखा सञ्चालन गर्दै आएको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा आबद्ध महिला सदस्य साक्षरता कक्षाबाट बचत गर्न सिक्दै छन् ।
पोष्टर, जनचेतनामूलक भिडियो देखाएर, उत्प्रेरणामूलक कथा छलफल विधि र अनुभव आदानप्रदानबाट समूहका सदस्यलाई सहकारीले साक्षरता कक्षा सञ्चालन गरी भविष्यमा रकम बचत गर्न सिकाउन थालेको हो ।
समूहका सदस्यले सहज रुपमा पोष्टरमा भएका चित्र देख्ने, बुझ्ने, भिडियो हेरेर बुझ्ने र छलफल गरी नजानेको कुरा सिक्ने अवसर प्रदान गर्ने भएकाले प्रदर्शन विधिद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिँदै आएको सहकारीका वरिष्ठ शाखा प्रबन्धक मानबहादुर चन्दले बताए ।
“अहिलेनै रकम बचत नगरे भविष्यका लागि रकम जुटाउन नसकिने र आपत परेका बेला पैसाको जोहो मिलाउनका लागि महिलालाई साक्षरता कक्षामै फजुल खर्च कम गरी बचत गर्न सिकाउन थालेका छौँ”, उनले भने । समूहका सदस्यलाई वित्तीय साक्षरता कार्यक्रमका लागि सहकारीले ११ वटा पोष्टर तयार गरेको छ ।
पोष्टरमा भएका चित्र र ठूलो अक्षरमा लेखेका कुराको वर्णन गरी रकम बचत गरे हुने फाइदाका बारे सहकारीले सिकाउँदै आएको छ । कक्षामा महिलालाई रुपैयाँ पैसाको सही सदुपयोग र सही तरिकाले व्यवस्थापन गर्न सक्ने निर्णय लिने, आम्दानी, खर्च, बचत तथा ऋणका बारेमा आधारभूत सीप ज्ञान प्राप्त गर्न सक्ने, वित्तीय शिक्षाको ज्ञानबाट भविष्यमा वित्तीय व्यवस्थामा सघाउ पु¥याउने र वित्तीय सुरक्षाका बारेमा जानकारी दिने गरिएको छ ।
बचत गर्नुपर्ने कुरा त थाहा थियो तर बचत कसरी गर्ने र यसबाट भविष्यमा हुने फाइदा के हुन भन्नेबारे जानकारी पहिले नभएको सहकारी समूहमा आबद्ध शुक्लाफाँटा नगरपालिका–५ वनसमितिका दुर्गा जोशीले भने, “पोष्टरमार्फत देखाइएका चित्र, भिडियो हेरेर र समूहमा छलफल गरी नियमित रुपमा हुने अनावश्यक खर्च जोगाई गर्नुपर्ने कुराको जानकारी भएको छ ।”
खर्च गर्दा पूर्वयोजना बनाएर बजेट तय गरी गर्नुपर्छ भन्ने कुरासमेत सिकेको उहाँले बताउनुभयो । वित्तीय साक्षरता भन्नु पैसाले कसरी, कति र के काम गर्छ भनी बुझ्न सक्ने कुरा हो । यसको अभावमा व्यक्तिले परिवार व्यवस्थापन तथा व्यवसाय सञ्चालन गर्ने क्रममा कमजोर निर्णय गर्न सक्छ सहकारीले गठन गरेको समूहका सदस्य सुनिता रावलले भने,“परिवारको वित्तीय सबलतामा नकारात्मक प्रभाव पर्नु भनेको कुनै कुनै तरिकाले राष्ट्रलाई नै असर पर्दै जानु हो भन्ने कुरा सिक्ने अवसर पाइएको छ ।” आफूले गरिरहेको कूल आम्दानी कति छ ।
कति कर तिरिरहेको छ । बढी आम्दानी कसरी गर्न सकिन्छ भन्ने कुराको विश्लेषण गर्ने तरिकाबारे समेत जानकारी भएको उहाँको भनाइ थियो । शिक्षा, तालीम र सीप विकासमा कति लगानी आवश्यक पर्छ भनी विश्लेषण गर्न सक्ने भएको अर्का सदस्य सिद्धि सिंहले बताउनुभयो । परिवारमा आर्थिक योजना र लक्ष्य बनाउदा आयस्रोतलाई ख्याल गरेर बनाउँदा रकम बचत गर्न सजिलो भएको उनको भनाइ थियो ।
“विवाह, व्रतबन्ध, घरगाडी खरीद तथा अकस्मात हुन सक्ने ठूलो खर्चका लागि बचत गरे मात्रै रकम जुटाउन सकिन्छ । यसका लागि नियमित रूपमा गर्ने बचत छुट्ट्याएर मात्रै खर्च गर्छौ । यो सबै वित्तीय साक्षरता कार्यक्रमबाट सिक्न पाएका छौँ”, पशुपती भट्टले भने । सम्पत्ति कमाएर मात्रै भएन पशुधन र व्यवसायको सुरक्षा पनि गर्नुपर्दछ ।
त्यसका लागि बीमाका साथै कमाउने व्यक्तिको जीवन बीमा अनिवार्य गरिनुपर्छ भन्ने कुरासमेत सिकेको समूहमा आबद्ध महिलाको भनाइ छ । तालीमबाट न्यून आय भएका समूहका सदस्य खर्च कटौती गरेर बचत गर्न सक्ने भएका छन् । कर्जा लिँदा कति लागत पर्छ र चुक्ता प्रक्रियाबारे समूहका सदस्यले सिकेका छन् ।
सहकारीको सेवा केन्द्रमा चार हजार १०० सदस्य छन् जसमा ८२० वटा समूह समावेश छन् । समूहमा आबद्ध सदस्यमध्ये ६४५ जनालाई प्रदर्शन विधिद्वारा वित्तीय साक्षरता कक्षामा सहभागी गराइ सक्षम बनाइएको छ । १५० जना बढी सदस्यलाई आयमूलक तालीमसमेत दिइएको छ ।
समूह गठन गरेर बचत तथा ऋण कारोवारसँगै सहकारीले सदस्यका लागि सीपमूलक, वित्तीय साक्षरता तालीम, स्वास्थ्यसम्बन्धी जनचेतना, गरीब परिवारका सदस्यका छोराछोरीलाई शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण लगायतका कार्यक्रमसमेत गर्दै आएको छ ।