काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ता नै रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनमा लागेको खुलेको छ । पार्टीका कार्यकर्ता प्रदर्शनमा लागेको सूचना आएपछि नेकपाको चितवन जिल्ला समितिले टेलिभिजन प्रस्तोता रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनमा संलग्न नहुने भनेको छ ।
नेकपा चितवन जिल्ला समितिले २ भदौको साँझ प्रेस विज्ञप्तिमार्फत् प्रदर्शनलाई अराजक गतिविधि भन्दै पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई निर्देशन दिएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “कुनै पनि बहानामा भएका यस्ता अराजक गतिविधिमा संलग्न नहुने पनि सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई निर्देशन गर्दछौं ।”
नेकपाले लामिछानेबारे भएको प्रदर्शनप्रति संगठनको गम्भिर ध्यानकर्षण भएको जनाएको छ । उसले अदालतको निर्णय समेतलाई प्रभाव पार्ने गरी हुलहुज्जत, अराजक गतिविधि र परिवर्तन विरोधी क्रियाकलाप बढीरहेको भन्दै आपत्ती जनाएको हो ।
नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार इन्द्रजीत र सचिव कृष्णभक्त पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रतिक्रियावादीहरुलाई बढावा दिने गरी भएको धमिलो पानीमा माछा मार्ने चलखेल भएको छ ।”