काठमाडौं । ६९ वर्षीय सेते विश्वकर्माले ढ्याङ्रो ठोक्न थालेको ५४ वर्ष पूरा भयो । उनका बाबुले पनि ढ्याङग्रो ठोक्थे । बाबु जिवितै हुँदा उनलाई सिकाए । हरेक वर्ष जनै पूर्णिमाको दिन गाउँबाट ढ्याङ्ग्रो ठोक्दै निस्कन्छन् सेते दाई ।
ढ्याङग्रो ठोक्ने भएकाले स्थानीयले ढ्याङ्ग्रे भन्छन् । विशेष किसिमको बेतले बनाएको लठ्ठीले ढ्याङ्ग्रो ठटाइन्छ । ढ्याङग्रेले लगाउने पोशाक विशेष हुन्छ । पटुकीमा सिउरेको काठको कला देखाउँदै सेते भन्छन्, ‘यो बराजुको पालादेखिको महादेव हुन् ।’