२५ जुन १९७५ को कुरा हो । दिल्ली विश्वविद्यालय छात्रसंघका अध्यक्ष अरुण जेटली नारायणामा भएको घरको आंगनमा सुतिरहेका थिए । बाहिरको हल्लाखल्लाले उनको निद्रा बिथोलियो । बाहिर अरुणलाई गिरफतार गर्न प्रहरी आएका थिए । उनका पिताको प्रहरीसँग चर्काचर्की परिरहेको थियो ।
यो थाहा पाएर उनी घरपछाडिको ढोकाबाट बाहिर भागे । त्यो रात उनी आफ्ना साथीको घरमा नै बसे । भोलिपल्ट बिहान साढे १० बजे उनले अखिल भारतीय विद्यार्थी परिषद्का लगभग २०० विद्यार्थीलाई दिल्ली विश्वविद्यालयका उपकुलपतिको कार्यलयअघि जम्मा गरे ।
उनले त्यहाँ भाषण दिए । उनीहरुको समूहले इन्दिरा गान्धीको पुतला पनि दहन गर्यो। प्रहरीले उनीहरुलाई घेरे । अरुणलाई गिरफ्तार गरे । तिहाड जेलमा जेटलीलाई अरुणबिहारी बाजपायी, लालकृष्ण आडवाणी र के आर मलकानी लगायत ११ अरु राजनीतिज्ञ भएको ठाउँमा राखियो । जेल बसाइ उनको लागि निकै फाइदाजनक भयो । जेटलीको राजनीतिक ज्ञान विश्वविद्यालयमा नभएर तिहाड जेलमा भएको जेटलीका मिल्ने साथीले बताए ।
लामो कपाल र जन लेननको जस्तो चस्मा
अरुण जेटलीले दिल्लीको सेन्ट जेवियर्स स्कुल र श्रीराम कलेज अफ कमर्स क्याम्पसमा पढेका थिए । विद्यार्थी हुँदा उनी कपाल लामो बनाउँथे । सांगीतिक समूह बिटल्सका जोन लेननले लगाएजस्तै चस्मा लगाउँथे । उनको चस्माको सिसा गोलो हुन्थ्यो । जसलाई मानिसहरु गान्धी गगल्स पनि भन्थे ।
चर्चित पुस्तक ‘द मेरिगोल्ड स्टोरी’ का लेखक कुमकुम चड्दाले अरुणकी कलेजकी साथीको भनाइ सम्झँदै बताए, ‘अरुण हेर्दा राम्रा थिए । केटीहरु उनी भनेपछि मरिहत्ते गर्थे । तर अरुण भने केटीहरुलाई वास्तै गर्दैनथे । उनी निकै लजालु स्वभावका थिए । स्टेजमा घन्टौ भाषण दिने अरुण स्टेजबाहिर बोल्न धकाउथे ।’
अरुणका अति घनिष्ट मित्र वकिल रेयान करजावाल भन्छन्, ‘अरुणलाई फिल्म हेर्ने सोख थियो । पडोसन उनको मन पर्ने फिल्म थियो । उनले धेरै पटक त्यो फिल्म हेरे। उनलाई मन परेको सिनेमामा भएका डायलग र पात्रले लगाएको कपडाको रंग पनि याद हुन्थ्यो ।’
लेखिका कुमकुम भन्छिन्, ‘१९७७ मा जनता पार्टी बनेपछि जेटलीलाई पाटीको राष्ट्रिय कार्य समितिमा राखियो । बाजपेयी उनलाई १९७७ को लोकसभा चुनावमा उठाउन चाहान्थे। तर उनको उमेर चुनाव लड्न चाहिनेभन्दा एक वर्ष कम थियो ।’ जेलमा परेकोले उनको पढाइ एक वर्ष ढिलो भएको थियो । उनले पनि राजनीतिमा नलागी कानूनको डिग्री पूरा गर्ने फैसला गरे ।
नाँच्न नजान्ने जेट्ली डिस्को जान्थे
विद्यार्थी राजनीतिमा लाग्नुअघि जेट्ली साथीहरुसँग दिल्लीमा भएको एकमात्र डिस्को ‘सेलर’ मा जान्थे । लेखिका कुमकुम भन्छिन्, ‘उनकी साथी बिनाले मलाई जेट्ली डिस्को गए पनि उनलाई नाँच्न भने फिट्टु नआउने बताएकी थिइन् । उनलाई गाडी चलाउन पनि जीवनमा कहिल्यै आएन । ड्राइभर राख्ने हैसियत नहुँदासम्म उनकी श्रीमतीले नै गाडी चलाउँथिन् ।’
महंगा कुराको सोख
उनको विवाह कांग्रेसका नेता जम्मूका पूर्व सांसद् तथा कस्मिरका पूर्व नेता गिरधारी लालकी छोरी संगीता डोगरासँग भयो । उनको विवाहमा अटलविहारी बाजपेयी र इन्दिरा गान्धी पनि आएका थिए । अरुण जेटली कुनै समय भारतका धेरै महंगा वकिल थिए ।
उनलाई महंगो घडी किन्ने सोख थियो । उनले सो समय ‘पैटेक फिलिप’ को घडी किनेका थिए । महंगा कलम र सलहरुको संग्रह नै बनाएका थिए उनले । उनी भारतमा नभेटिएका सामान साथीहरुको सम्पर्कमा विदेशबाट मगाउँथे । उनी मिठो खानाको सोखिन थिए । उनी सबैभन्दा मिठो खाना पाइने क्लबहरु खोजेर खान जान्थे ।
बेफोर्को जाँचमा महत्त्वपूर्ण भूमिका
१९८९ मा वीपी सिंहको सरकार सत्तामा भएको बेला उनी अतिरिक्त सोलिसिटर जनरल भएका थिए । जनवरी १९९० देखि जेटली इन्फोर्समेन्ट डाइरेक्टरका अधिकारी भूरे लाल र सीबीआई के डीआईजी एम के माधवनसँग बेफोर्स मामलाको जाँच गर्न धेरै पटक स्वीटजरल्याण्ड र स्वीडेन गएका थिए । तर ८ महिनापछि पनि उनीहरुले केही ठोस प्रमाण फेला पारेनन् ।
जैन हमला केसमा आडवाडीको बचाउ
१९९१ को लोकसभा चुनावमा जेट्ली नयाँ दिल्ली संसदीय क्षेत्रबाट लालकृष्ण आडवाडीका चुनाव एजेन्ट थिए । धेरै प्रयासमा उनले फिल्म स्टार राजेश खन्नाको विरोधमा थोरै अन्तरले मात्र आडवाडीलाई जिताएका थिए । उनले आडवाडीको पक्षमा बाबरी मस्जिद विध्वंशको केस र जैन हमला केस पनि लडे ।
९० को दशकमा टेलिभिजन समाचारले भारतीय राजनीतिको स्वरुपमा नै परिवर्तन ल्याइदियो । जबजब टेलिभिजनको महत्तव बढी भयो भारतीय राजनीतिमा जेटलीको इज्जत पनि बढ्दै गयो । सन् २००० मा एशियाविक पत्रिकाले जेटलीलाई भारतको उदयमान नेताको स्थानमा राख्यो । १९९९ मा जेटलीलाई सरकारी घर दिइयो । उनले आफ्नो घर पार्टीले बासस्थान उपलब्ध गराउन नसकेका बिजेपीका नेतालाई दिए ।
यो समयमा उनले गुजरातका नरेन्द्र मोदीसँगको सम्बन्धलाई निकै महत्त्व दिन्थे । यसले उनलाई पछि धेरै फाइदा पनि भयो । १९९५ मा गुजरातमा बिजेपी सत्तामा आएपछि नरेन्द्र मोदीलाई दिल्ली पठाइयो । जेटलीले उनलाई आफू निकट बनाए । त्यो समयका पत्रकारहरुका अनुसार मोदी धेरैजसो जेटलीको कैलाश कोलोनीमा भएको घरमा नै देखिन्थे ।
उनी बिजेपीमा फिट हुन सकेनन्
जेटलीले मिठो खाना र राम्रो लुगालाई आफ्नो जीवनको मूल मन्त्र बनाएका थिए । उनी मानिसलाई उनको कुरा गर्ने तरिका, पहिरन, खाना तथा गाडी आदिले मूल्यांकन गर्थे ।
पार्टीका पूर्व महासचिव तथा अन्य कार्यकर्ता उनलाई एलिट हुने चाहनाले भारतीय जनता पाटीको अध्यक्ष कहिल्यै बन्न नसकेको बताउँछन् । यसले गर्दा उनलाई राजनीतिक रुपमा नोक्सान पनि भयो । उनको आधुनिक र सम्पन्नतायुक्त छवी पार्टीको पुरातनवादी सोचसँग मिलेन । उनलाई पाटीभित्र सधैं शंकाको नजरले हेरियो ।
उनी आरएसएसको इनसाइडर पनि कहिल्यै बन्न सकेनन् । २०११ मा ‘द हिन्दू’ पत्रिकामा जेटलीलाई हिन्दुत्व मुद्दाको अवसरवादी भनिएको थियो । पछि उनले यसको खण्डन पनि गरेका थिए ।
यसको अर्को पक्ष पनि छ । जेटलीका पुराना मित्र स्वप्न दास भन्छन्, ‘जेटलीले इमेज समस्यामा जुधिरहेका बिजेपीलाई उठाएर मध्यम वर्गको स्वीकार्यता दिलाए ।’ जेटलीलाई गलत पाटीमा भएको सही व्यक्ति हो भनिन्छ । तर जेटलीलाई आफूबारेमा भनिएको यो कुरा कहिल्यै मन परेन ।
जनाधार नभएर घाटा
अरुण जेटली सधैं राज्यसभाबाट चुनिएर संसद्मा पुगे । उनी राम्रा वक्ता थिए । तर उनीको जनाधार भने कमजोर थियो । त्यसैले उनी अपेक्षा गरिएको उचाइमा पुग्न सकेनन् ।
संसद्मा भएको उनको जोडदार प्रस्तुतिको आधारमा उनलाई बिजेपीको भावी प्रधानमन्त्री नै भनिन्थ्यो । जुलाइ २००५ मा अरुण जेटली गम्भीर बिरामी भए । उनको ठूलो अप्रेसन गरिएको थियो ।
पाटीको नेतृत्वबाट डिसेम्बर २००५ मा लालकृष्ण आडवानीले राजीनामा दिए । यो पद जेटलीले पाउने आशा गरेका थिए । उनको आशा निराशामा बद्लियो । उनको ठाउँमा बिजेपीले उत्तर प्रदेशका राजनाथ सिंहलाई पाटीको नेतृत्व सुम्पियो ।
सरकारी गेस्ट हाउसको भाडा आफ्नो गोजीबाट
बाजपायी मन्त्रीमण्डलको मन्त्री भएपछि उनी साथीहरुसँग नैनीताल गए । जहाँ उनलाई राजभवनको गेस्टहाउसमा राखिएको थियो । उनका साथी सुहेल सेठले पत्रिकामा लेखेका छन्, ‘होटलबाट चेकआउट गर्नु पहिले उनले सबै भाडा आफ्नै गोजीबाट निकालेर दिए । त्यहाँका कर्मचारीले मलाई पहिला कुनै मन्त्रीले यसरी आफ्नो गोजीबाट बिल तिरेको नदेखेको बताए ।’ धेरैपटक लंडन जाँदा पनि उनले उद्योगपतिहरुले पठाएका ठूला गाडीमा नगएर रेलबाट नै यात्रा गर्ने गरेको उनका साथीले बताए ।
मोदीसँग निकटता
बाजपेयीको जमानामा जेटलीलाई सधैं आडवानीनिकट भनेर बुझ्थे । तर २०१३ मा उनी आडवानी क्याम्प छाडेर नरेन्द्र मोदी क्याम्पमा आए । २००२ को गुजरात मुठभेडपछि बाजपायीले मोदीलाई राजधर्मको आरोप लगाए । उनले यो समयमा मोदीको नैतिक समर्थन मात्र नभएर उनको पद जोगाउनको लागि पनि महत्त्वपूर्ण भूमिका निभाएका थिए । गुजरात दंगा केसमा पनि उनले अदालतमा मोदीको पक्षबाट वकालत गरेका थिए ।
२०१४ मा अमृतसरबाट लोकसभा चुनाव हारेपछि पनि नरेन्द्र मोदीले उनलाई मन्त्रीमण्डलमा राखेर उनलाई वाणिज्य तथा रक्षा मन्त्रालयको जिम्मेवारी दिएका थिए । उनी वाणिज्यमन्त्री हुँदा नै मोदीले नोटबन्दी गरेका थिए । उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । खराव स्वास्थयका कारणले उनले २०१९ को चुनाव लडेनन् । उनले आफैं नरेन्द्र मोदीको टिममा सदस्य हुन नचाहेको घोषणा गरेका थिए । अहिले अमित शाहलाई नरेन्द्र मोदीको सबैभन्दा नजिक मानिन्छ । तर एक समय बिजेपीको केन्द्रीय नेतृत्वमा मोदीको सबैभन्दा खास अरुण जेटली थिए ।
(बीबीसी हिन्दीका लागि रेहान फजलको रिपोर्टको अनुवाद )