काठमाडौं, १२ भदौ । नेपाल भ्रमण बर्ष–२०२० लाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्ने तथा नेपालमै उत्पादन भई विश्व बजारमा निर्यात भईरहेका रेडिमेड पहिरनहरुको समेत प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय रनवे ‘‘डेब्यु २०१९’’को अन्तिम तयारी पुरा भएको छ ।
कासा प्रा. लि.को मुख्य आयोजना तथा विश्वभरीका प्रतिनिधि मोडलहरुको सहभागिता रहने उक्त कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्थाले जनाएको छ । जारी विज्ञप्तीमा भनिएको छ,‘विगत लामो समयदेखि नै नेपाल र नेपालीहरु विश्वभर विद्यमान रहेको फेसनप्रति सजग रहँदै आएका छन् । विभिन्न विश्वप्रख्यात अन्तर्राष्ट्रिय ब्राण्ड नेपालमा त्यस बेलादेखि नै उपलब्ध हुनु र विदेशी पर्यटकहरु समेत नेपालमा किनमेल गर्न इच्छुक देखिनुले फेसनका क्षेत्रमा नेपाल निकै पहिलेदेखि नै अग्रणी स्थानमा रहेको प्रष्ट हुन्छ ।’
नेपालमै पश्चिमा तथा रेडिमेड पहिरन उत्पादन गरी देशभित्र तथा अन्य २१ मुलुकहरुमा निर्यात गर्दै आएको कासा प्रा. लि.ले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै यहि भदौ १३ गते पाटन दरवार संग्राहलयमा अन्तर्राष्ट्रिय रनवे ‘‘डेब्यु २०१९’’ फेसन शोको आयोजना गर्न लागेको जानकारी गराए । उक्त फेसन शोमा नेपाललगायत अन्तर्राष्ट्रियस्तरमा ख्याँति कमाएका विभिन्न देशका मोडलहरुले सहभागिता जनाउने छन् ।
कार्यक्रममा मिस नेपाल २०१८ का बिजेताहरु (मिस नेपाल वल्र्ड २०१८ श्रृङखला खतिवडा, मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटा, मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, मिस नेपाल इन्टरनेशनल २०१८, रोनाली अमात्य र मिस नेपाल सुप्रानेशनल २०१८ महिमा सिंह) ले पहिलोपटक एउटै ¥याम्पमा सहभागिता जनाउने भएका छन् ।
त्यस्तै गरेर मिस नेपाल वल्र्ड २०१६ अस्मि श्रेष्ठ, मिस नेपाल वल्र्ड २०१७ निकिता चण्डकले समेत सहभागिता जनाउने आयोजक संस्थाले जनाएको छ । एसियाज नेक्स्ट टप मोडल र किंगफिसर मोडल आस्था पोख्रेल, इन्डियाज नेक्स्ट टप मोडल सविता कार्की र मोडल सन्दिपा लिम्बुको समेत सहभागिता रहने उक्त कार्यक्रममा पहिलो नेपाली ट्रांसजेंडर मोडल अन्जली लामा पनि देखिने भएकी छिन् ।
त्यस्तै, अन्तर्राष्ट्रियस्तरबाट फिनल्याण्डकी मोडल तथा टेलिभिजन प्रस्तोता एनी कुकोहोभी, इण्डोनेशियाकी मोडल अल्फ्रिडा अलिफिया, मिस युनिभर्स जाम्बिया २०१८ मेल्बा इमान्युलाका साथै मिस अर्थ इन्डिया २०१८ निशी भारद्धाज तथा मिस एसिया तथा भारतीय मोडल रेवती श्रेत्रीको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।
विश्वकै ठूलो फेसन हाउस, GUCCI का अफिसिल फटोग्राफर मेनुयल स्क्रिमा फेसन सोमा विशेष अतिथि रहनेछन् । उक्त शोलाई सफल तुल्याउनको लागि ब्युटि पार्टनरको रुपमा ब्युटीहब नेपाल, भेन्यु पार्टनरको रुपमा द्वारिका होटल, फुड पार्टनरको रुपमा सन क्याफे एण्ड बार तथा द ट्र्याङल, बैङकिङ पार्टनरको रुपमा माहालक्ष्मी विकास बैङ्क, कम्फर्ट पार्टनरको रुपमा कटन मिल, त्यस्तैगरेर एयरलाईन्स पार्टनरको रुपमा टर्किस एयरलाईन्स, ज्वेलरी पार्टनरको रुपमा इम्प्रेस ज्वेलरी तथा हस्पिटालिटी पार्टनरको रुपमा ताज भिभान्ताले सहयोग गरेका छन् ।
विश्व सम्पदा सुचिमा सुचिकृत पाटनको संग्राहलयभित्र अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गरी नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान पु¥याउने पनि आफूहरुको उद्देश्य रहेको आयोजकले विश्वास दिलाएको छ ।
कासा प्रा. लि.की प्रमुख रमिला नेमकुलले अन्तर्राष्ट्रिय फेसन क्षेत्रका प्रख्यात व्यक्तित्वहरुको भव्य सहभागिता तथा उपस्थिति रहने उक्त कार्यक्रममा सक्रियापूर्वक उपस्थित जनाउन र कार्यक्रमको प्रचार प्रसार गरि सहयोग गरिदिनु आग्रह गरेकी छिन् ।