काठमाडौं भाद्र १४ । भारतकी प्रख्यात गायिका अनुराधा पौडवाल नेपाल आएकी छन् । नेपाल–भारतबीचमा सदियौंदेखि स्थापित कला, संस्कृति, धार्मिक र साहित्यलाई प्रवद्र्धन गराउने उद्देश्यका साथ प्रसंशा संरक्षण समूहले उनलाई नेपालमा ल्याएको हो ।
शनिबार कमलादीस्थित नेपाल प्रज्ञाप्रष्ठिान आयोजित कार्यक्रममा भारतको पद्म श्री पुरस्कारबाट सम्मानित गायिका अनुराधा पौडवाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले खादा, माला र ताम्रपत्रले सम्मानित गरेका थिए ।
पौडवालले करिब दुईघण्टा आफ्नो सुमधुर स्वरबाट विभिन्न भजन तथा गीतहरु प्रस्तुत गरेकी थिईन । बरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटाको पहलमा पौडवाललाई काठमाडौं ल्याईएको थियो ।
पौडवाल छोरा आदित्य र छोरी कविता पौडवालका साथ काठमाडौं आएकी थिईन । उनकी छोरी पनि भारतकी चर्चित गायिका हुन । त्यस्तै, छोरा आदित्य विश्वकै सबैभन्दा कम उमेरमा संगीत भरेर वल्र्ड रेकर्डको किर्तीमानी बनाएका संगीतकार हुन् ।
प्रज्ञा भवनमा आयोजित कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका डिसिएम लगायत विशिष्ठ व्यत्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका संयोजक तथा प्रसंशा संरक्षक समूहका अध्यक्ष यज्ञराज उपाध्यायले पाहुनाहरुलाई स्वागत गरेका थिए ।
स्वागत मन्तव्यमा उपाध्यायले कार्यक्रमको विषयमा प्रकाश पार्दै पर्यटन वर्ष-२०२०लाई सफल पार्नुका साथै नेपाल–भारतबीचको साँस्कृति सम्बन्धलाई थप उचाईमा पुर्याउनु नै उक्त कार्यक्रमको उद्देश्य रहेको विश्वास दिलाएका थिए ।
गायिका पौडवालले भजनका अलवा विश्वमै चर्चित भएका गीत दिल है कि मानता नही, जिए तो जिए कै से, नजर के साम ने जिगर के पास, धिरे धिरे से जीन्दगी में आना र नेपाली गीत तीन पाते डाँडाँ काटेर जस्ता गीतले दर्शकहरुलाई संगीतको मीठो स्वाद चखाएकी थिईन ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम