काठमाडौं १५ भदौ । प्रदेश २ का ५९ वटा गाउँपालिका मध्ये ३ जिल्लाका १० वटा गाउँपालिकाले अझै गाउँसभा गरेको छैन । सभा नभएपछि ती सबै गाउँपालिकामा काम र विकास निर्माण रोकिएको छ ।
सप्तरीको राजगढ गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत नहुँदा सभा हुन सकेन्। गाउँपालिका अधिकृत, नायबसुब्बा, खरिदारलगायत धेरै कर्मचारी रिक्त रहेकाले कर्मचारी अभावमा सभा गर्न नसकिएको राजगढ गाउँपालिका अध्यक्ष परमानन्द यादवले बताए।
भदौ ९ गते उपप्रमुखको कुर्सीमा बाख्रा–खसी ल्याएर बाँधेपछि सप्तरीकै वलान–बिहुल गाउँपालिकाको गाउँसभा गर्ने प्रक्रिया सेलाएको छ। न्यायिक समितिमा आफ्नो विरुद्धमा मुद्दा दर्ता गराएको भन्दै स्थानीय सुजित साह कानु र अन्य केही व्यक्तिले आफ्नो कुर्सीमा बाख्रा–खसी ल्याएर बाँधेपछि काम गर्ने वातावरण नै नभएको गाउँपालिका उपाध्यक्ष रुबी गुप्ताले बताइन्।
गाउँपालिका र जनप्रतिनिधिको अपमानसहितको काममा संलग्नलाई कार्वाही र काम गर्ने वातावरण हुनुपर्ने गुप्ताले माग गरेकी छिन्।
पर्सा जिल्लाको विन्दावासिनी गाउँपालिकाले पनि अहिलेसम्म सभा गरेको छैन। गाउँपालिकाकी उपप्रमुख किरणदेवी गुप्ताले पालिकाको कामलाई कर्मचारीले वेवास्ता गरेका कारण सभा हुन नसकेको बताइन्। गुप्ताले गाउँपालिकाका प्रमुखले पनि सभा गराउनेप्रति चासो नदेखाएकाले गाउँपालिकाको कामकाज ठप्प रहेको बताइन्।
सिराहाको औरही गाउँपालिकामा भने कर्मचारी समस्या नरहे पनि अल्पमत/बहुमतका कारण सभा हुन सकेको छैन्। अध्यक्ष सिद्धार्थ यादवले आफूलाई असफल बनाउन वडाध्यक्षहरुले सभाको बातावरण बन्न नदिएको आराेप लगाएका छन्।
पर्साको सखुवा पर्सौनी, विन्दवासीनी, पकाहा मैनपुर, धोविनी र सिराहाको औरही तथा सप्तरीको राजगढ, महादेवा, बलान विहुल तिरहुत र छिन्नामस्ता गाउँपालिकामा अझै गाउँसभा हुन सकेकाे छैन्।
गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश २ ले गाउँपालिकामा समस्याको चाङ रहेको र संघले गाउँपालिकालाई दिएको अधिकार पनि कटौती गर्दै लगेकाले अधिकार प्राप्तिका लागि दबाव दिन गाउँपालिका प्रमुख–उपप्रमुखको बैठकले १२ वटा निर्णय गरेको महासंघ प्रदेश २ का अध्यक्ष विजयकुमार चौरसियाले जानकारी दिए।
प्रदेश २ का गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत नभएको, जनप्रतिनिधिहरुबीच आवश्यक समन्वय हुन नसकेको, अल्पमत बहुमतका कारण पनि सभा हुन नसकेको बताएका छन्। प्रशासकीय प्रमुख र अन्य कर्मचारीको पनि व्यवस्थापनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयाको ध्यानाकर्षण गराउने महासंघले निर्णय गरेको छ।
गाउँपालिका महासंघ प्रदेश २ का अध्यक्ष नै प्रमुख रहेकाे पर्साको पकहा मैनपुर गाउँपालिकाले पनि सभा गराउन सकेको छैन्। सभा नहुनुको कारण कर्मचारीको अटेरी गरेको अध्यक्ष चौरसियाले बताए।
गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङले कर्मचारीलाई संघले चलाउने हुदाँ स्थानीय सरकारलाई कर्मचारीले नटेर्ने र आफूअनुकुल भए काम अगाडि बढाउने गरेकाले अधिकांश गाउँपालिकाले सोचे जसरी काम हुन सकेको बताए। कान्तिपुरबाट