काठमाडौं, १५ भदौ । सत्तारुढ दल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कश्मिर भारतको भूभाग भएको बताउँदै यो मामिलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चालेको कदम सही भएको टिप्पणी गरेका छन् ।
शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका अध्यक्ष यादवले यस्तो बताएका हुन् । उनले कश्मिर भारतकै भूभाग भएकोले भारतीय प्रधानमन्त्रीले हालै कश्मिरमा चालेको कदम स्वागतयोग्य रहेको आशय व्यक्त गरे । मोदीलाई यो मामिलामा नेपाल सरकारले पूर्ण साथ र सहयोग गर्नुपर्ने यादवको भनाई छ ।
कश्मिर मामिलामा भारत सरकारले पछिल्लो कदमबारे नेपाल सरकारको आधिकारिक दृष्टिकोण किन नआएको भन्दै पत्रकार धमलाले सोधेको एक प्रश्नमा उनले भने-“जम्मु कश्मिर भारतमा पर्छ र भारतले कदम उठायो भने त्यसको टाउको दुःखाई नेपाललाई किन हुने ?”
धमलाले फेरि प्रश्न गरे, होईन, अरु देशहरुले त भारतको यो कदमलाई लिएर उसको स्वागत गरेका छन् नि ? जवाफमा यादवले भने,”के नेपालले विरोध गरेको छ र ? उहाँहरुको समर्थन वा विरोध गर्ने हामी को हौं ? यो उहाँहरुको आन्तरिक मामिला हो । भारतको कश्मिरमा उसले के कदम उठाउँछ ? यो त उसको मामिला हो । यो प्रकरणमा नेपालले जे गरिरहेको छ, त्यसलाई ठीक गरिरहेको छ भनेर भन्नुपर्छ ।”
समाजवादी पार्टीका नेताहरुले हालै नेपाल भ्रमणमा आएको भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका थिए । नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठकमा भाग लिनको लागि नेपाल आएका भारतीय विदेशमन्त्रीसँगको भेटका कारण समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उपप्रधान एवम् स्वास्थ्यमन्त्रीसमेत रहेका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव निकै चर्चा रहेका थिए । उक्त भेटवार्तामा आपसी हितका विषयहरू, वर्तमान भारत-नेपाल सरकारबीच सम्पर्क र आर्थिक सहयोग विस्तारको विषयमा छलफल भएको भट्टराईले ट्विटरमार्फत् जानकारी दिएका थिए ।