Logo

‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ भदौ २५ गतेदेखि



काठमाडौं – फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्सको तयारी पूरा भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा यही भदौ २५ गतेदेखि चल्ने सातौं संस्करणको फर्नेक्स २०१९ को सबै तयारी पूरा भएको संघका अध्यक्ष रुपेश प्रधानले बताए।

‘विगत वर्षमा जस्तै यसपटक मेलाको सबै तयारी पूरा भएको छ। परिष्कृत रुपमा मेला आयोजना हुन लागेको जानकारी गराउँन पाउँदा हामीलाई खुसी लागेको छ,’ संघका अध्यक्ष प्रधानले पत्रकार सम्मेलनमा बताए।

बढ्दो आधुनिक जीवनशैली सँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने उनको भनाइ छ। किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकको भनाइ छ।

यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकको विश्वास छ।

फर्नेक्स २०१९ को शीर्ष प्रायोजन जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रिज, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर छन्।

एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले समर्थन गरेका छन्। यसैगरी, यस एक्सपोलाई नेपाल हस्तकला महासंघ र नेपाल इन्टेरियर डिजाइनर एसोसिएसनले सहयोग गरेका छन्।

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनबारे जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालले बताए।

नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आमउपभोक्तालाई आग्रह गर्दै संयोजक अग्रवालले नेपाल फर्निचरमा आत्मनिर्भर हुने बाटोमा अघि बढेको जानकारी गराए।



प्रतिक्रिया दिनुहोस्