काठमाडौं । ह्याकिङ भएका बैंकका एटिएम प्रणालीको विस्तृत स्थिति पत्ता लगाउन विदेशी ‘फरेन्सिक’ टोलीले आजबाट अनुसन्धान थाल्ने भएको छ।
घटनाबारे सिंगापुरको भरीजोन कम्पनीका प्रतिनिधिले आजदेखि अनुसन्धान शुरु भएको आर्थिक अभियानले खवर छापेको छ । चिनियाँ नागरिकले नेपाली बैंकहरुको एटिएम प्रणाली ह्याक गरी गत शनिबार राजधानीका विभिन्न एटिएम बुथबाट पैसा चोरेका थिए।
बुधवार नेपाल आईपुगेकोे विज्ञ टोलीले चारीको घटना कसरी भयो, कुन बैंकको कति क्षति भयो र कसले व्यहोर्नुपर्ने लगायतको सम्पुर्ण विवरण सार्वजनिक हुने समाचारमा उल्लेख छ ।
नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम नेप्ससँग सहकार्य गरी अनुसन्धान गर्दा पनि कुन बैंकको कति रकम चोरियो भन्ने यकिन तथ्यांक नआएपछि फरेन्सिक टोली बोलाइएको हो।
राष्ट्र बैंकको प्राविधिकसहित फरेन्सिक टोलीको अनुसन्धान प्रतिवेदन आएपछि कुन बैंकको एटिएम बुथबाट कति रकम चोरियो भन्ने प्रस्ट हुने जनाइएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार नेपाल एसबिआई, नेपाल इन्भेस्टमेन्ट र नबिल बैंकको एटिएम बुथमा ग्लोबल आइएमई, सनराइज, जनता, प्रभु र एनआइसी एसिया बैंकको भिसा कार्ड प्रयोग गरी रकम चोरिएको थियो। रकम चोरीसँगै भिसा कार्डको सेवा बन्द भएको छ।