ग्रेस टोम्बिजोडवाबाट जिम्बाबेका तत्कालिन राष्ट्रपति रोबर्ट मुगावे निकै प्रभावित थिए । टाइपिष्टका रुपमा राष्ट्रपति कार्यालयमा कार्यरत ग्रेससँग उनको प्रेम सम्बन्ध थियो । विवाहित भएपनि उनी ग्रेससँग नजिक थिए । ग्रेसलाई विस्तारै राजनीतिमा माथि उठाउन थाले ।
टाइपिष्टका रुपमा राष्ट्रपति कार्यालयमा प्रवेश पाएकी उनको अभूतपूर्व सफलताको कारण धेरैलाई थाहा थियो । रोबर्ट मुगावेको आशिर्वाद थियो त्यो । मुगावेको प्रथम पत्नीको निधनपछि उनीहरुबीचको सम्बन्ध विवाहमा परिणत भयो । सन् १९९६ मा ७२ वर्षीय मुगावेले ३१ वर्षीया ग्रेससँग विवाह गरे । ग्रेसले मुगावेसँग विवाहका लागि पति स्टानले गोरीराजासँग पारपाचुके गरिन् ।
महत्वाकांक्षी ग्रेस जिम्बाबेको सत्तारुढ दल जानु पिएफको महिला संगठनको अध्यक्ष बनाइन् । दलको शक्तिशाली ४० जनाको समूहमा पनि परिन् । सन् २०१७ मा सैनिक कू नभएको भए ग्रेस जिम्बाबेको राष्ट्रपति बन्थिन् । उनलाई राष्ट्रपति बन्नबाट रोक्न त्यहाँको सैनिकले कठोर कदम चालेको थियो । मुगाबे पत्नी ग्रेसलाई यति माया गर्थे कि उनैलाई जिम्बाबेको साँचो सुम्पन चाहन्थे जुन विफल भयो ।
ग्रेसलाई राष्ट्रपति बनाउन मुगाबेले सबै किसिमका तयारी गरिसकेका थिए । उनलाई अध्ययनका लागि चीन पठाए । शैक्षिक योग्यताको प्रश्न उठ्न नदिन सन् २००७ मा चीनबाट स्नातक तहको अध्ययन पूरा गरिन् । ग्रेसलाई राजनीतिका अनेकन रणनीति र सूत्रहरु किाए । तर, मुगावेको पत्नीलाई राष्ट्रपति बनाउने प्रयास सफल हुन सकेन ।-एजेन्सी