धुर्मुस–सुन्तली फिल्मी क्षेत्रमा प्रवेश गर्ने भएका छन् । उनीहरुले “सेन्टी भाइरस” फिल्मको निमार्णको औपचारिक घोषणा गरेको हो । कबड्डी फेम्ड निर्देशक रामबाबु गुरुङले यस फिल्मको निर्देशन गर्नेछन् । मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने र सिजन दाहाल छन् । पोलिटिकल ड्रामा जनरमा निर्माण गर्न लागिएको उक्त फिल्ममा अमेरिका बस्दै आएका डिन्डु लामा ह्योल्मोले लगानी गरेका छन् ।
फिल्ममा सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तल’ सँगै दयाहाङ राई, विल्सन विक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, सूर्यमाला खनाल, बसन्त भट्ट, सहित भद्रगोल हाँस्य टेलिफिल्मका केही चर्चित कलाकारहरु कमलमणि नेपाल (खुपीका बुबा) र दीपक आचार्य (काकु) लगायत केही कलाकारहरुको अभिनय रहनेछ । तर, धुर्मुसका आफ्नै भाई समेत रहेका कुमार कट्टेल (जिग्री) सहित भद्रगोलका अन्य तीन चर्चित पात्र अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) र हरि निरौला (कक्रोज) भने नखेल्ने बताईएको छ । उनीहरुले फिल्मको स्क्रिप्ट लेखनको पक्षमा सहयोगी भूमिका निर्वाह गरेका छन् ।
कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको फिल्ममा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको पाश्र्व संगीत रहनेछ ।
निर्माता समेत रहेका सिताराम कट्टेलका अनुसार फिल्मबाट प्राप्त मुनाफामध्येको १५ प्रतिशत रकम गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदानलाई र ५ प्रतिशत रकम कलाकारसंघको भवन निर्माणार्थ स्वकृति मिलेमा खर्च गरिने छ ।