काठमाडौं, भदौ २१ । मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागारमा ‘भिडियो कन्फरेन्स हल’ निर्माण भएको छ । कारागारभित्र रहेका कैदीबन्दीलाई अदालतमा उपस्थित नै नगराई भिडियो कन्फरेन्समार्फत वकीलले वयान लिन पाउने गरी कन्फरेन्स हल निर्माण गरिएको हो ।
भिडियो कन्फरेन्सिङ सेवाको शुरुआतसँगै सम्बन्धित कैदीबन्दीले कारागारभित्रबाटै अदालतमा भिडियोमार्फत वकिलसमक्ष बयान दिन पाउने प्रहरीको भनाई रहेको छ । साथै, सबै अदालतमा उक्त सेवा शुरु भएपछि कारागारभित्र रहेको भिडियो कन्फरेन्स सेवाको पनि सुरुआत हुने जनाइएको छ ।
सबै कारागारमा सिसी क्यामरा र विद्युतीय हाजिरको शुरुआत गरेको कारागार व्यवस्थापन विभागले केन्द्रीय कारागार, डिल्लीबजार, नख्खु, महोत्तरी, झुम्का सुनसरी, सङ्खुवासभा, तुल्सीपुर, रामेछाप र इलाम कारागारमा भिडियो कन्फरेन्सिङ सेवा जडान गरेको हो ।
विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागारमा हाल तीन हजार १२९ कैदीबन्दी रहेका छन् । उक्त कारागारभित्र केन्द्र, भद्र र महिला जेल रहेका छन् । केन्द्रमा एक हजार ९१०, भद्रमा ८३२, महिला जेलमा ३७८ र चार नाबालक रहेका छन् ।रासस