काठमाडौं, २२ भदौ । अर्थमन्त्री डा युवराज खतिवडाले अर्थतन्त्रलाई कमजोर देखाएर आफ्नै खुट्टामा बन्चरो हान्ने काम कसैले पनि गर्न नहुने बताएका छन् । उनले मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसो नगर्न पनि सबैलाई सचेत गराएका छन्।
आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १० औं वार्षिकोत्सव समारोहको उद्धघाट्न गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक रहेको जिकिर गरे । तर, यस्तो राम्रो सूचक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न खोजिएको भन्दै खतिवडाले चिन्ता व्यक्त गरे । उनले भने,‘यसरी सरकारका विरुद्धमा भ्रम छर्दा त्यसले कसैलाई पनि फाइदा पुर्याउँदैन्।’
उनले सरकारले उत्पादनमा जोड दिएर पुँजी बजारको विकासलाई उच्च प्राथमिकता दिएको दाबी गरे। अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासका लागि उत्पादनमा बढावा दिन सरकारले लगानीको क्षेत्रको पहिचान गरिरहेको पनि जनाए।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम