Logo

विद्युत् आयात बर्सेनि बढ्दै



काठमाडौं, भदौं २७ । नेपाल विद्युत् प्राधिकरणले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा मात्रै चार अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको विद्युत् आयात गरेको छ।

प्राधिकरणले भारतबाट बिजुली आयात गरेर नेपालमा लोडसेडिङ मुक्त गराउँदै आएको छ। तर, बर्सेनि विद्युत् आयातको औषत दर भने तीव्र गतिमा बढिरहेको छ।

आर्थिक वर्ष ०७४र७५ मा प्राधिकरणले भारतबाट १८ अर्ब ४२ करोड रुपैयाँको बिजुली आयात गरेको थियो। प्राधिकरणले गत आव ०७५र७६ मा वर्षमा २३ अर्ब ३ करोड रुपैयाँको विद्युत् आयात गरेको छ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी नेपालमा पर्याप्त बिजुली उत्पादन नहुने भएकाले भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताउँछन्। ‘नेपालमा उत्पादित बिजुलीले बजारको माग धान्नै सकेको छैन।

त्यसैले भारतबाट बिजुली आयात गर्नु परेको हो,’ उनले भने, ‘नेपालका अधिकांश जलविद्युत् आयोजना रन अफ दी रिभरमा आधारित छन्। जसका कारण हिँउदको समयमा विदेशबाट बिजुली आयात नगरी सुखै छैन।’

प्राधिकरणका अनुसार अहिले भारतबाट दैनिक तीन सय २९ मेगावाट बिजुली आयात हुँदै आइरहेको छ। प्राधिकरण मातहत रहेका सहायक कम्पनीबाट चार सय ६८ मेगावाट र निजी क्षेत्रबाट चार सय ७९ मेगावाट बिजुली उत्पादन हुँदै आएको छ। आजको नागरिक दैनिकमा हिमाल लम्सालले खवर छ ।



प्रतिक्रिया दिनुहोस्