गलेश्वर,२९ भदौ । परम्परागत प्रविधिका साधनको अस्तित्व सङ्कटमा पर्दै जान थालेको छ । बढ्दो आधुनिकताको प्रभावले पुराना सीप र दिमागको आधारमा निर्माण गरिएका परम्परागत प्रविधिका साधन सङ्कटमा परेका हुन् । मानिसको दैनिक जीवनयापन गर्नका लागि बनाइएका पुराना साधनको संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेको हो ।
रैथाने सीप र प्रविधिको प्रयोग गरी वर्षौँ पहिलेदेखि बनाइएका सामान लोप हुने अवस्थामा छन् । म्याग्दीका ग्रामीण भेगहरुमा अन्न पिसानी गरिँदै आएको पानीघट्ट लोप हुँदै जान थालेपछि यसको संरक्षणका लागि पहल गर्नुपर्ने आवश्यकता देखिएको छ ।
हिमाली जिल्ला म्याग्दीमा पछिल्लो सयम गाउँ–गाउँसम्म नै बिजुली बल्न थालेपछि कुटानी पिसानीका लागि विद्युतीय मिल सञ्चालनमा आएपछि पानीघट्टको माग कम हुँदै गएको छ । पानीघट्टमा पिँधेको पीठोबाट बनेका रोटी, ढिँडोलगायतका परिकार स्वादिष्ट हुनुका साथै स्वास्थ्यका दृष्टिकोणले पनि बहुउपयोगी हुने स्थानीय बासिन्दा बताउँछन् । त्यसका साथै एक दशकअघिसम्म परम्परागत ग्रामीण जीवनको अभिन्न अङ्गजस्तै बनेको पानीघट्ट भावी पुस्ताको जानकारीका लागि पनि संरक्षण गर्नुपर्ने आवश्यकता छ ।
पानीघट्ट सञ्चालकलाई आवश्यक अनुदानको व्यवस्था गरेर भए पनि यस्ता रैथाने सीपको संरक्षण गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् । पुराना सीप र प्रविधिका साधनहरु पानीघट्ट, ढिकी, जाँतो, कोलजस्ता साधनको संरक्षण र प्रचारप्रसार गर्नका लागि सरकारी निकायबाट आवश्यक सहयोग गर्नुपर्ने बेनी नगरपालिका–५ चिप्लेटीका चुँधारा श्रीकृष्णलाल विश्वकर्माले बताए ।
पुरानो प्रविधि र सीपसँग जोडिएको साधनलाई संरक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला यस्ता सम्पदा र प्रविधिको जर्गेनाका लागि स्थानीय सरकार पनि चनाखो हुनुपर्ने बताइएको छ । म्याग्दीको पश्चिमी क्षेत्रका गुर्जा, रुम, ओखरबोट, मराङलगायतका गाउँमा फाट्टफुट्ट रूपमा पानीघट्ट चल्ने गरेका छन् । पानीघट्टका साथै परम्परागत सीप र प्रविधिका ढिकी, जाँतो, कोलजस्ता पुराना प्रविधि हराउँदै जाँदा संरक्षणको अभावसमेत देखिएको छ ।
पुराना सीप तथा प्रविधिका साधनको संरक्षणका लागि नगरपालिकामार्फत आवश्यक पहल गरिने बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालको भनाइ छ । पुराना पुस्ताको सीप, मेहेनत र परिश्रम नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा परम्परागत कुटानी पिसानीका साधनको अस्तित्व नै सङ्कटमा परेको उनले बताए ।