Logo

१२ वर्षपछि भुषणको खोला फर्कियो



निर्देशक तथा चर्चित सञ्चारकर्मी भुषण दाहाल चलचित्र निर्देशनमा फर्किने भएका छन् । हाल कान्तिपुर टेलिभिजनको जीएम रहेका भुषण करिब १२ वर्षपछि फिल्मी क्षेत्रमा फर्किने तयारीमा छन् । उनले नेपालको पहिलो डिजिटल चलचित्र ‘कागबेनी’ २००८ मा निर्देशन गरेका थिए । नेपाली चलचित्रहरु त्यसअघि रिलमा खिचिन्थ्यो ।

नेपाली चलचित्रमा डिजिटल यात्राको सुरुवात गर्न ठूलो योगदान पुर्याएका भुषणले ‘कागबेनी’ पछि थोरै म्यूजिक भिडियोको निर्देशन गरेता पनि चलचित्र निर्देशनबाट टाढा भए । उनी आफ्नो व्यस्ततालाई त्यसको कारण मान्छन् । “बगेको खोला १२ वर्षपछि पनि फर्किन्छ” भन्ने नेपाली उखानलाई भुषणले आफ्नो व्यक्तिगत जीवनमा पुष्टि गर्न लागेका छन् ।

भुषणले निर्देशन गर्ने चलचित्रको घोषणा दशैं अगाडि नै हुने र छायांकन तिहार सकिएपछि सुरु हुने जनाइएको छ । एक दशकभन्दा लामो समयपछि चलचित्र निर्देशनमा फर्किदा उनीमा दबाब र उत्साह दुवै मिसिएको छ । चलचित्रमा कान्तिपुर मिडिया ग्रुपको लगानी रहने जनाइएको छ ।

भुषणले चलचित्रमा ६५ वर्षिय एक वृद्ध पात्रलाई मुख्य भूमिकामा लिएर निर्देशन गर्न लागेका हुन् । बदलिएको नेपाली चलचित्रको ट्रेन्डको परिप्रेक्ष्यमा काम गर्न लागेका भुषण अहिले चलचित्रका लागि कलाकार छनोटमा व्यस्त छन् ।



प्रतिक्रिया दिनुहोस्