Logo

कृष्ण सिटौलाको आरोप : “सरकार कम्युनिष्ट पथमा हिँड्न खोजेको छ”



काठमाडौं, ४ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन सबैको साझा दायित्व भएको बताएका छन् । पार्टीको दोस्रो चरणको जागरण अभियानका क्रममा झापाको बिर्तामोडमा आज आयोजित कार्यक्रममा उनले संविधान कार्यान्वयनमा सबै दल, सबै जातजाति, वर्ग र समुदायको साझा दायित्व भएको बताएका हुन् ।

“सबै तह र तप्काको अथक संघर्ष र मेहनतबाट संविधान निर्माण भएको छ”, उनले भने, “यसको कार्यान्वयन गर्नु हामी सबैको दायित्व हो ।” सरकार संविधानको भावना अनुरुप चल्न नसकेपछि जनस्तरमा असन्तुष्टि बढ्दै गएको उनको आरोप थियो । “वर्तमान सरकार संविधानको मर्म र भावनाअनुरुप चल्न सकेको छैन”, नेता सिटौलाले भने, “सरकार संविधानको बाटोमा नभई कम्युनिष्ट पथमा हिँड्न खोजेको छ ।”

नेता सिटौलाले सिंहदरबारको कार्यशैली परिवर्तन नगरेसम्म संविधानअनुसार जनताका पक्षमा काम नहुने उल्लेख गरे । उनले काङ्ग्रेस पार्टी्भित्र पनि नेताहरुले आ–आफ्ना कमजोरी सच्याएर जनताको भावना समेट्नुपर्नेमा जोड दिए । उनले भने, “पार्टी सङ्गठन आन्तरिक मामिलाबाट अघि बढ्नुपर्छ र नेतृत्वले पनि सबैलाई साथ लिएर हिँड्न सक्नुपर्छ ।” रासस



प्रतिक्रिया दिनुहोस्